पोखरा, ४ चैत्र। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन्। आइतबार स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन तथा कार्ययोजना सार्वजनिक गर्दै उनले बिमा कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयको मात्र दायित्वका रूपमा सीमित राख्न नहुने उल्लेख गरे।

उनले यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प आवश्यक रहेको बताए। साथै, नीति–निर्माताहरूको सहयोग तथा समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता विना बिमा कार्यक्रम सफल नहुने उनको धारणा थियो। यसै सन्दर्भमा, प्रधानमन्त्री तथा संसद्को समन्वयमा हाल विभिन्न निकायमार्फत सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एकीकृत व्यवस्थापन गरिने जानकारी उनले दिए।

मन्त्री पौडेलका अनुसार छुट्टाछुट्टै रहेका स्वास्थ्य कार्यक्रमलाई एउटै छातामुनि ल्याउने नीति अवलम्बन गरिँदैछ। यसबाट उपचारमा सबै नागरिकको समान पहुँच सुनिश्चित हुनुका साथै सेवा प्रवाह पारदर्शी हुने, स्रोत साधनको अधिकतम उपयोग हुने र स्वास्थ्य बिमा प्रणाली समृद्ध, व्यवस्थित तथा नागरिकमैत्री बन्ने उनको भनाइ छ।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि ‘डिपार्चर’ आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले बिमा कार्यक्रमको दिगो व्यवस्थापन र विस्तारबाट मात्रै यस्तो सुधार सम्भव हुने बताए। सरकारले ‘सबैका लागि, सधैँका लागि: स्वास्थ्य बिमा’ भन्ने मूल उद्देश्यका साथ कार्यक्रमलाई देशभर विस्तार गर्न चाहेको उनको भनाइ छ।

उनले स्वास्थ्य बिमा प्रणालीमा औषधि तथा उपचारसम्बन्धी सेवाहरू डिजिटल माध्यमबाट प्रवाह गरिँदै आएको जानकारी गराए। आगामी दिनमा यसलाई पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित बनाएर कार्यान्वयन गर्ने सरकारको योजना रहेको पनि उनले सुनाए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0