पोखरा, २९ चैत्र। शिक्षक महासंघको आह्वानमा देशभर जारी आन्दोलनप्रति समर्थन जनाउँदै समाजवादी मोर्चा, नेपालले एक औपचारिक प्रेस वक्तव्य जारी गरेको छ। मोर्चाले शिक्षकहरूको मागलाई न्यायोचित र संवैधानिक अधिकारसँग जोडिएको बताउँदै तत्काल सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ।
वक्तव्यमा मोर्चाले शिक्षकहरूको हक–अधिकार र शिक्षा क्षेत्रको गुणस्तरीय सुधारका पक्षमा उठेका आवाजप्रति ऐक्यबद्धता प्रकट गर्दै ती मागहरूलाई गम्भीर रूपमा लिनु पर्ने उल्लेख गरिएको छ। साथै, शिक्षामा समान पहुँच र गुणस्तर कायम राख्न दीर्घकालीन रणनीति आवश्यक रहेको भन्दै त्यसका लागि संसदको विशेष अधिवेशन आवश्यक रहेको भनिएको छ।
विप्लव नेतृत्वको समाजवादी मोर्चाले हस्ताक्षर गरेको उक्त वक्तव्यमा विद्यालय शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकारलाई गम्भीर पहल गर्न आग्रह गरिएको छ।
शिक्षकहरूका मागहरू संविधानद्वारा प्रत्याभूत शिक्षाको हकसँग जोडिएका छन् भन्ने उल्लेख गर्दै मोर्चाले ती माग तत्काल सम्बोधन गर्न सरकारलाई अपिल गरेको छ।





























