पोखरा, १ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक घटनाक्रमको हिसाबले २०८१ साललाई औसत वर्षको रूपमा मूल्याङ्कन गरेका छन्। गृहजिल्ला चितवनमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले २०८१ सालमा सकारात्मक र नकारात्मक दुवै प्रकारका घटनाक्रम घटेको जनाए। समग्रमा हेर्दा वर्ष न अत्यन्त उत्साहजनक न त अत्यधिक निराशाजनक रहेको उनको टिप्पणी थियो।

प्रचण्डले आगामी वर्ष २०८२ साललाई राम्रो कामका लागि अवसरको रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार २०८१ सालले राजनीतिक दलहरूलाई आत्मसमीक्षा तथा आत्मालोचनाको अवसर दिएको छ। अब नयाँ वर्षमा जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्ने संकल्प लिनुपर्ने उनको धारणा छ।

नयाँ वर्षको अवसरमा प्रचण्डले चितवनवासीसहित देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरे। उनले देशको पछिल्लो राजनीतिक अवस्थालाई गम्भीर र पेचिलो बताउँदै शिक्षक, डाक्टर, नर्स लगायत विभिन्न क्षेत्रका समूहहरू तथा राजनीतिक दलहरू सडकमा उत्रिनुले सरकारविरुद्धको असन्तोष प्रकट भएको बताए।

पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले वर्तमान सरकार लामो समय टिक्न नसक्ने संकेत समेत गरे। यद्यपि, नयाँ सरकार निर्माणको सम्भावना बढ्दो रहे पनि माओवादी केन्द्र त्यसप्रति केन्द्रित नरहेको दाबी गरे। उनले दलहरूबीच सहमति र पुनःसंयोजनको अवस्था सिर्जना हुने संभावना रहेको उल्लेख गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0