पोखरा, ११ वैशाख। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षकहरूको माग वार्ताबाटै समाधान हुने स्पष्ट पारेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले देशको इतिहासमै रहेका ठूला द्वन्द्वहरू समेत संवादमार्फत टुंगिएको स्मरण गर्दै शिक्षक आन्दोलनलाई समेत सोही बाटोबाट सम्बोधन गर्नुपर्ने धारणा राखे।

अर्थमन्त्री पौडेलले शिक्षामन्त्री, प्रधानमन्त्रीलगायत उच्च नेतृत्वसमक्ष ज्ञापन पत्रमार्फत राखिएका मागहरूलाई सरकारले सकारात्मक रूपमा ग्रहण गरिसकेको बताए। उनले पछिल्लो समय मन्त्रिपरिषद्‌बाटै मागहरू सम्बोधन गर्ने र आन्दोलन फिर्ता लिएर शिक्षकहरू विद्यालय फर्कने विषयमा अनौपचारिक सहमति भइसके पनि कार्यान्वयनमा आउन ढिलाइ भएको उल्लेख गरे।

उनले समस्या समाधानका लागि आगामी संघीय संसद्को अधिवेशनबाट आवश्यक विधेयक पारित गर्ने तयारी सरकारले गरिरहेको जानकारीसमेत दिए। सरकारले वार्ता र संवैधानिक प्रक्रियामार्फत समस्या हल गर्न प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलको भनाइ छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0