पोखरा, १४ वैशाख। विद्यालय शिक्षा विधेयक लगायतका माग राख्दै आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीबीच नयाँ बानेश्वरमा झडप भएको छ। आन्दोलनकारी शिक्षकहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले भीडलाई नियन्त्रणमा लिन पानीको फोहोरा प्रहार गरेको थियो भने आन्दोलनकारीहरूले ढुंगामुढा गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले झडपमा परी ७ जना शिक्षक घाइते भएको जानकारी दिए। उनले सामान्य लाठीचार्ज र पानीको फोहरा प्रहार गरिएको बताए। तर नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने करिब ६० जना शिक्षक घाइते भएको दाबी गरेका छन्। घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रामा सेन्टरमा उपचार भइरहेको सुवेदीले बताएका छन्।
विद्यालय शिक्षा विधेयक संशोधनसहित आफ्ना माग पूरा गर्न दबाव दिन देशभरका शिक्षक कर्मचारी चैत २० गतेदेखि आन्दोलनमा छन्। सरकारले वार्ताका प्रयास गरे पनि समाधान निकाल्न अझै सफल हुन सकेको छैन।




























