पोखरा, २३ वैशाख। नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा नहान्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभामा सरकारको ०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा उनले प्रचण्डलाई सल्लाह दिँदै भने, “तपाईंले प्रधानसेनापति हटाउनुभएको थियो, मुख्यमन्त्रीलाई हटाउनुभएको थियो, तर केपी ओलीको सरकारले ट्युनिङ नमिलेको सहसचिवलाई हटाउँदा तपाईंको मुटुमै गोली लागेजस्तो किन भयो?” भट्टराईले प्रचण्डको नेतृत्वमा बनेको सरकार र केपी ओलीको नेतृत्वमा बनेको सरकारका बीचको भेदबारे प्रश्न गरे।
उनले प्रचण्डलाई दमकको टावरको विरोध गर्दा आफूले बनाएको लिवाङको टावर र सालिकको बारेमा पनि सम्झाएका छन्। उनले शिक्षक र सरकारबीचको सहमति कार्यान्वयन भएको भन्दै विपक्षी दलको उक्साहटले शिक्षकहरूलाई १५ दिनभन्दा बढी सडकमा राखिएको आरोप पनि लगाए।




























