पोखरा, ७ जेठ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार बिचौलियाको स्वार्थमा बनेको र त्यसैका कारण आफैं ढल्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्। प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मंगलबार बोल्दै पुनले सरकारलाई ढाल्ने माओवादीको कुनै गणितीय तयारी नरहेको तर सरकार आफैं असफलता र विवादका कारण धरापमा परेको बताए।
उनले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा नभई भ्रष्टाचार ढाकछोप गर्न र सुशासन कमजोर पार्न बनेको आरोप लगाए। पुनका अनुसार गभर्नर नियुक्तिमा भएको ढिलाइले सरकारको नियत र प्रभावविहीनता उजागर गरेको छ। उनले दुई महिनासम्म गभर्नर नियुक्त गर्न नसक्नु सरकारको लाचारीको प्रमाण भएको उल्लेख गर्दै बिचौलियाको चलखेलका कारण सरकार बिचलित भएको बताए।
पुनले सरकारको स्थायित्वको जिम्मेवारी सत्तारूढ शक्तिले लिनुपर्ने भए पनि हालको अवस्थाले जनतालाई निराश तुल्याएको धारणा राखे। उनले सरकार ढाल्ने कुनै योजना नभएको तर सरकार आफैं आफ्नो बोझ र बिचौलियाको दबाब थाम्न नसक्दा ढल्ने दाबी गरे। सरकारको नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनले माओवादी अब जनतामाझ जाने तयारीमा रहेको स्पष्ट पारे।
एक फरक प्रसङ्गमा उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारको निष्पक्ष छानबिनको माग गरे। संसदीय समिति केवल राजनीतिक निकाय भएकाले प्राविधिक विषयमा विज्ञ निकायमार्फत अनुसन्धान हुनु पर्ने उनको भनाइ थियो। उनले तथ्य र प्रमाणको आधारमा निष्पक्ष जाँच प्रक्रिया अघि बढाउन लेखा समितिलाई आग्रह गरे।
पुन पत्रकार भेटघाटमा रोल्पा प्रस्थान गर्नुअघि सहभागी भएका थिए, जहाँ उनी पुष्पलाल मध्यपहाडी राजमार्गमा सञ्चालित जागरण अभियानका लागि जाने तयारीमा छन्।


























