पोखरा, ९ जेठ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको दाबी गरेका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सिलसिलामा बागलुङको बुर्तिबाङमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी नयाँ दिशा र गतिमा अघि बढिरहेको उल्लेख गरे।
उनका अनुसार माओवादी केन्द्रले जनताको गुनासा, भावना र सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा किसान, मजदुर तथा उत्पीडित वर्गका समस्या समाधानतर्फ केन्द्रित भई राष्ट्रिय एकतालाई सुदृढ गर्ने दिशामा अभियान अघि बढाएको छ। उनले जनजागरण अभियानले देशभर नयाँ राजनीतिक माहोल सिर्जना गर्ने विश्वास व्यक्त गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले आफ्ना प्रधानमन्त्रीत्वकालमा देशमा ठूला संरचनागत योजना सुरुआत भएको उल्लेख गर्दै मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा स्मरण गरे। उक्त आयोजनाले मध्यपहाडमा बसोबास गर्ने लाखौँ नागरिकको जीवनशैलीमा उल्लेख्य परिवर्तन ल्याएको उनको भनाइ थियो।
राजनीतिमा स्वच्छता र जनउत्तरदायिता अझै नआएको टिप्पणी गर्दै उनले अबका दिनमा सबै राजनीतिक दल जनतालाई केन्द्रमा राखेर इमानदार रूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भ्रष्टाचार दिनानुदिन बढिरहेको उल्लेख गर्दै यसविरुद्ध माओवादी केन्द्रले खबरदारीपूर्ण भूमिका निर्वाह गरिरहेको स्पष्ट पारे।
उनले भने, “पार्टीले सुरु गरेको मध्यपहाडी जनजागरण अभियान जनताको भावना बुझ्न र माओवादी केन्द्रलाई थप सशक्त बनाउन लक्षित हो। यो यात्रामा जनताले देखाएको भरोसा र सहभागिता उत्साहजनक छ।”




























