२९ कात्तिक, काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई आगामी मंसिर १२ गतेभित्र विद्युत् बिलको बक्यौता तिर्न निर्देशन दिएको छ। प्राधिकरणले आज सूचना जारी गर्दै उद्योगीलाई १५ दिनभित्र बक्यौता बुझाउन भनेको हो। कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठक र कात्तिक २७ गतेको प्राधिकरण सञ्चालक समितिको बैठकमा बक्यौता महसुल १५ दिनभित्र असुल गर्ने निर्णय भएको प्राधिकरणले स्मरण गराएको छ।

प्राधिकरणका अनुसार बक्यौता रकमको गणना वितरण केन्द्रहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएका डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएका खपत इन्भर्जीको आधारमा गरेको छ। यस आधारमा उद्योगहरूलाई छुट बिल प्रदान गरी बक्यौता बुझाउन भनिएको छ।

यदि निर्धारित मिति अर्थात् मंसिर १२ गतेभित्र बक्यौता नतिरेमा प्राधिकरणले नियमानुसार थप कदम चाल्ने चेतावनी दिएको छ। यसअघि प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गर्ने उद्योगहरूमा बक्यौता नतिरेको आधारमा विद्युत् आपूर्ति रोक्ने कदम उठाएको थियो।

तर कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले उद्योगहरूको विद्युत् आपूर्ति पुनः जोड्ने निर्णय गरेको थियो। यससँगै कात्तिक २७ गतेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा विद्युत् आपूर्ति पुनः जोड्न निर्णय गरेपछि अधिकांश उद्योगहरूको लाइन पुनः जोडिदिएको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले बक्यौता रकम समयमा बुझाउने उद्योगीलाई सहजता पुर्‍याउने र समयसीमा नाघेपछि कानूनी प्रक्रिया अघि बढाइने जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0