२३ कात्तिक, दैलेखबाट सुर्खेत जाँदै गरेको यात्रुबहाक गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्लामा दुर्घटनामा पर्दा ४ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो २ः२० बजे दुर्घटनामा परेको हो। सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले उक्त दुर्घटनाको पुष्टि गरेका छन्।

दुर्घटनाको खबर प्राप्त भएपछि सुर्खेतका प्रहरी प्रमुख सहितको टोली तत्कालै घटनास्थलमा पुगेको थियो। उद्धारमा खटिएको टोलीले गाडीमा रहेका ३० जनालाई घटनास्थलबाट उद्धार गरी अस्पताल पठाएको थियो। उपचारका क्रममा चार जनाको मृत्यु भएको र बाँकी घाइतेहरूको सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिएका छन्।

प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो, जसका कारण घाइतेहरूको अवस्था गम्भीर देखिएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0