पोखरा, ३० कार्तिक। नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्सअफिसमा ऐतिहासिक सफलता हात पारेको छ। फिल्मले प्रदर्शनको दुई हप्ताभित्रै २७ करोड ३५ लाख रुपैयाँ ग्रस कमाई गर्दै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड तोडेको हो। वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबारसम्मको १४ दिने कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै फिल्मको कमाइलाई ३० करोडको नजिक पुर्याएको जनाएको छ।

फिल्मले बुधबारमात्रै १ करोड ९५ लाख रुपैयाँ ग्रस कमाउँदै सफलताको नयाँ अध्याय थपेको छ। मुलुकभर ४५० भन्दा बढी शोमार्फत प्रदर्शन भइरहेको विजय बराल स्टारर यो फिल्मले देशब्यापी उत्साहजनक टिकट बिक्री गर्दै गएको छ। मंगलबारसम्म २५ करोड ४ लाख रुपैयाँको आँकडा पार गर्दै यसले ‘कबड्डी ४’को २३ करोड ५० लाख ग्रस कमाईको रेकर्डलाई उछिनेर नयाँ कीर्तिमान बनाएको थियो।

झण्डै ६ दशक लामो नेपाली फिल्म इतिहासमा यो कमाइलाई अभूतपूर्व मानिएको छ। टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’को सफलता रोकिने कुनै संकेत छैन, जसले नेपाली सिनेमा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ। कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख ग्रस कमाउँदै यसले एकैदिनमा सर्वाधिक कमाइ गर्ने फिल्मको रूपमा पनि कीर्तिमान राख्यो। यसअघि ‘कबड्डी ४’को सर्वाधिक एकदिने ग्रस २ करोड ९० लाख रुपैयाँ थियो।

‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको छोटो अवधिमा नै दर्शकहरूको अपार माया प्राप्त गर्दै इतिहास रच्न सफल भएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0