काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीकी कप्तान पुजा महतोले विश्वकपको लागि नेपालको नेतृत्व गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्न पाउँदा गर्वको महसुस भएको बताएकी छिन्। बिहीबार यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएर स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कप्तान पुजाले यस्तो अभिव्यक्ति दिएकी हुन्। नेपाली महिला क्रिकेट टोलीले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा स्थान बनाउनु खुसीको क्षण भएको उल्लेख गर्दै पुजाले टोलीको कप्तानी पाएकोमा क्यानलाई धन्यवाद दिइन्।
उनले भनिन्, ‘महिला क्रिकेटको इतिहासमा पहिलोपटक विश्वकपमा स्थान बनाउनु साँच्चै गर्वको कुरा हो। आगामी एसिया कप र विश्वकपमा सहभागी हुन पाउनु हामी सबैका लागि ठूलो अवसर हो। हाम्रो लक्ष्य आफूलाई अझ बलियो बनाउँदै उत्कृष्ट प्रदर्शन गर्ने हो।’
टोलीकी उपकप्तान सोनी पाख्रिनले विश्वकपमा छनोट हुनु टोलीको ठूलो लक्ष्य पूरा भएको बताइन्। उनले भनिन्, ‘क्यानले दिएको सहयोग र कोचिङ स्टाफ तथा खेलाडीहरूको मेहनतका कारण यो सफलताको अवसर मिल्यो। यूएईलाई उसकै मैदानमा हराएर ट्रफी ल्याउँदा गर्व लागिरहेको छ।’
नेपाली टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले पनि यस सफलता पछाडिको मेहनत र रणनीतिक तयारीबारे चर्चा गरे। दाङको लमहीमा भएको अभ्यास शिविरदेखि नै छनोट प्रतियोगिताको महत्त्वबारे खेलाडीलाई अवगत गराएको र दिल्लीमा भएका अभ्यास खेलले गर्दा विश्वकपमा छनोट हुने सम्भावना थप बलियो भएको उनले बताए। रिजालले यो सफलताले नेपाली महिला क्रिकेटमा स्वर्णिम युगको सुरुवात भएकोमा विश्वास व्यक्त गरे।
दुबईमा भएको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको च्याम्पियन बनेर नेपालको टोलीले पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको हो। अब नेपाली टोलीले आगामी वर्ष जनवरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा सहभागी हुनेछ भने त्यसअघि डिसेम्बरमा एसीसी यू-१९ महिला एसिया कपमा पनि खेल्नेछ।
नेपाली टोलीको यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न बिहीबार साँझ त्रिभुवन विमानस्थलमा ब्यान्ड बाजासहित भव्य स्वागत गरिएको थियो। स्वागत गर्न राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र अन्य पदाधिकारीहरूसहित क्रिकेट समर्थकहरूको उपस्थिति थियो।
यो सफलताले नेपाली क्रिकेटप्रेमीहरूमाझ नयाँ उत्साह र गर्वको भावनालाई सुदृढ बनाएको छ। युवा खेलाडीहरूको मेहनत र समर्पणले नेपाली महिला क्रिकेटमा गौरवशाली क्षण ल्याएको छ र आगामी प्रतिस्पर्धामा उनीहरूको अझै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।


























