३ मंसिर, पोखरा। यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा फ्रान्सले इटालीमाथि ३-१ को रोमाञ्चक जित निकालेको छ। लिग ए समूह २ अन्तर्गतको खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेताको स्थान सुरक्षित गर्यो।
खेलको दोस्रो मिनेटमै आड्रियन राबियटले लुकास डिग्नेको कर्नरबाट आएको बललाई हेडिङमार्फत गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाए। त्यसपछि ३३औं मिनेटमा डिग्नेको फ्रिकिक प्रहार इटालीका गोलरक्षक भिकारियोको हातमा लागेर आत्मघाती गोलका रूपमा परिणत भयो, जसले फ्रान्सलाई २-० को अग्रता दिलायो।
यद्यपि, इटालीले खेलमा फर्कने प्रयास गरे। ३५औं मिनेटमा फेडेरिको डिमार्कोले उपलब्ध गराएको बलमा आन्द्रिया कामबियासोले गोल गर्दै इटालीलाई खेलमा तन्काउन सफल भए। तर, दोस्रो हाफको ६५औं मिनेटमा डिग्नेकै अर्को फ्रिकिकमा राबियटले हेडिङ गर्दै फ्रान्सको जितलाई पक्का गरे।
यस जितसँगै फ्रान्सले ६ खेलबाट १३ अंक हासिल गरी समूह विजेताको उपाधि जित्यो। समान अंक भएको इटाली भने गोलअन्तरका कारण दोस्रो स्थानमा रह्यो। दुवै टोली यसअघि नै क्वाटरफाइनल प्रवेश गरिसकेका छन्।

























