३ मंसिर, काठमाडौं। संघीय राजधानी काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारका लागि औपचारिक रूपमा खुला भएको छ। भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीका अनुसार चीनको नाका हुँदै चोभारसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुलेको छ। उनले आन्तरिक तयारी पूरा भएपछि कार्यान्वयन सुरु गरिने जानकारी दिए।
अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को दफा ८९ (च) बमोजिम राजपत्रमा सूचना प्रकाशित गर्दै चोभार बन्दरगाह भन्सारसम्म मालवस्तु भित्र्याउन आन्तरिक परिवहन सुविधा दिने निर्णय गरेको छ। यो सुविधा अन्तर्गत सीमास्थित भन्सार कार्यालयमा जाँचपास नगराई मालवस्तु सिधै बन्दरगाह भन्सारसम्म लैजान सकिने व्यवस्था गरिएको छ।
वीरगञ्ज, मेची, विराटनगर, भैरहवा, तातोपानी, रसुवा भन्सार र सिर्सिया सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने मालवस्तुका लागि मात्र यो सुविधा उपलब्ध हुनेछ। यसअघि २०७८ सालमा जारी सूचनाले काठमाडौंसम्म सिधै मालवस्तु ल्याउन अनुमति दिएको भए पनि चीनसँगको व्यापार खुल्न नसक्दा बन्दरगाहले अपेक्षित काम गर्न सकेको थिएन।
नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार सीमा भन्सारमै सामान अनलोड गरी पुनः अर्को गाडीमा लानुपर्ने व्यवस्थाले समय र लागत दुवै बढाउने गरेको छ। यो नयाँ सुविधाले पैठारीकर्तालाई सरलता र उपभोक्तालाई लागतमा राहत दिने अपेक्षा गरिएको छ।
राजपत्रमा प्रकाशित सूचनामा पैठारीकर्ताले मालवस्तु भन्सार कार्यालयमा ट्रान्जिट मोड्यूलमार्फत आवश्यक विवरण भरेर अनुमति लिनुपर्ने उल्लेख छ। अनुमति प्राप्त गाडीमा जीपीएस जडित ट्र्याकिङ प्रणाली प्रयोग गरिनेछ। सवारीसाधन बिग्रिए वा दुर्घटनामा परे, तुरुन्तै भन्सार प्रमुखलाई जानकारी गराउनुपर्ने प्रावधान छ।
सडकमार्गबाट ७२ घण्टाभित्र मालवस्तु चोभार बन्दरगाह पुर्याइसक्नुपर्ने सर्त राखिएको छ। साथै, चलान गरिएको कन्टेनरलाई बाटोमा खोल्न वा जाँच गर्न पाइने छैन।
चोभार सुक्खा बन्दरगाहमा यो सुविधा सुरु भएपछि उत्तर र दक्षिण दुवैतर्फका व्यापारिक नाकाबाट सामान सिधै काठमाडौं ल्याउन सहज हुने अपेक्षा गरिएको छ। महानिर्देशक पुडासैनीका अनुसार यो निर्णयले कानुनी अवरोध हटाएर चोभार बन्दरगाहलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने सम्भावना बढाएको छ।


























