५ मंसिर, पोखरा। नेकपा माओवादी केन्द्रले पार्टीको विधान निर्वाचन आयोगको ढाँचाअनुसार परिमार्जन गरी बुझाउने प्रक्रिया थालेको छ। पार्टीका महासचिव देव गुरुङका अनुसार, विधान अधिवेशनले पारित गरेको विधानलाई निर्वाचन आयोगले तोकेको ढाँचामा अनुकूल बनाउन काम भइरहेको छ।
महासचिव गुरुङले विधान अधिवेशनबाट पारित विधानलाई निर्वाचन आयोगमा बुझाइसकेको भए पनि आयोगले आफ्नो ढाँचामा ढालेर पठाउन निर्देशन दिएको बताए। उनका अनुसार, आयोगको मागअनुसार भाषा, शैली र प्रस्तुतीमा केही परिमार्जन हुन सक्ने भए पनि विधानको मूल विषय यथावत राखिनेछ।
माओवादी केन्द्रको विधान अधिवेशन २०८० साल फागुन ४ गते काठमाडौंमा सम्पन्न भएको थियो। यस अधिवेशनबाट पारित विधानमा भाषागत त्रुटिहरू सच्याएर आयोगलाई बुझाउने तयारी भइरहेको गुरुङले बताए।
विधानलाई परिमार्जन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा महासचिव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेका छन्। मंगलबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले कार्यदल गठनको निर्णय गरेको हो।
महासचिव गुरुङका अनुसार कार्यदलले छोटो समयमै काम सम्पन्न गरी विधान निर्वाचन आयोगमा बुझाउने लक्ष्य राखेको छ। विधान परिमार्जनसँगै माओवादी केन्द्रले आफ्नो राजनीतिक प्रणालीलाई थप व्यवस्थित बनाउन खोजेको छ।































