मंसिर ७ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङस्थित ऐतिहासिक नुनखानी आज संरक्षण र उपयोग अभावमा बेवारिसे बनेको छ। कुनै समय ‘भोटको नुन’का रूपमा प्रसिद्ध यो खानीको नुन मुस्ताङका साथै म्याग्दी, बागलुङ, पर्वतलगायतका जिल्लामा निकै लोकप्रिय थियो। तर, आयोडिनयुक्त नुनको सहज उपलब्धतासँगै तीन दशकयता नुनखानीबाट नुन उत्खनन हुन छाडेको छ।
७३ वर्षीय थर्चेन गुरुङका अनुसार, अघिल्लो पुस्तासम्म यो खानीबाट निस्किएको नुन गाईवस्तु र मानव उपभोगका लागि प्रयोग गरिन्थ्यो। तर अहिले, नुनिलो पानी नर्साङखोलामा बगेर खेर गइरहेको छ। स्थानीयवासी परम्परागत विधिद्वारा पानी सुकाएर ढिक्के नुन उत्पादन गर्दथे। पहिले जमिनमा सुकाइने नुनिलो पानी पछिल्लो समय त्रिपाल र प्लास्टिकमा सुकाउने गरिएको थियो।
तेताङबासी तीन महिनासम्म खानीमै बसेर वर्षेनि ६०–७० मुरी नुन निकाल्ने गर्थे। तर अहिले खानीमा काम गर्ने मान्छे छैनन्। यातायातको अभावले खानीसम्म पुग्न गाह्रो छ। बर्खामा नर्साङखोलामा बाढी आउने र हिउँदमा हिउँ परिरहने हुँदा वैशाख, जेठ र असारको समय मात्र उपयुक्त हुने गरेको स्थानीय बताउँछन्।
राणा शासनकालमा खानी उत्खननका लागि थासाङ गाउँपालिका–१ का सुब्बा शङ्करमान शेरचनलाई जिम्मा दिइएको थियो। उनका सन्तान काठमाडौंतिर बसाइँ सरेपछि खानी उत्खननको प्रक्रिया रोकिएको हो।
२०७७ सालमा खानी तथा भूगर्भ विभागले खानीको स्थलगत अध्ययन गरी नुनलाई उपभोग योग्य पाइएको थियो। अध्ययनअनुसार खानीमा ७०–९३ प्रतिशत सोडियम क्लोराइड छ। यस क्षेत्रलाई ‘हिमालयन साल्ट’का रूपमा ब्राण्डिङ गरी व्यावसायिक उत्खनन गर्ने प्रस्ताव गरिए पनि कुनै पनि निजी कम्पनीले चासो नदेखाएपछि यो योजना ओझेल परेको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका वडाध्यक्ष विनोद गुरुङले खानी उत्खननको सामर्थ्य स्थानीय तहसँग नरहेको बताए। भूगोल तेताङ र छुसाङका बासिन्दाको भएकाले विवादसमेत रहेको छ। खानीसम्म पुग्ने बाटो अभाव र संरचनात्मक विकास नगर्दा खानी उपयोग हुन सकेको छैन।
पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार, खानीको व्यवस्थित उत्खनन, आयोडिनयुक्त नुन उत्पादन र ब्राण्डिङ गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ।
मुस्ताङमा नुनको मात्र नभई युरेनियम, कोइला र ग्यासका खानी पनि छन्। युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि प्रयोग गरिन्छ। लोमान्थाङ क्षेत्रमा भेटिएको युरेनियम खानीको सुरक्षा गर्न नेपाली सेनाको क्याम्प स्थापना गरिएको छ।
मुस्ताङका खानीहरूको उत्खनन, संरक्षण र आधुनिक उपयोगले रोजगारी सिर्जना, आयात प्रतिस्थापन, र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन योगदान पुग्न सक्छ। तर यो सम्भावना वास्तविकतामा बदल्न सरकारको स्पष्ट नीतिगत पहल र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक देखिन्छ।




























