काठमाडौं, १२ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति नजिकिँदै गर्दा यसको चहलपहल बढेको छ। मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आठ फ्रेन्चाइज टोलीको सहभागितामा एनपीएलको पहिलो संस्करण सुरु हुनेछ। आयोजक नेपाल क्रिकेट संघ (क्यान) र सहभागी टोलीले तयारीलाई अन्तिम रूप दिँदैछन्।
खेलाडीहरूले प्रशिक्षण र अभ्यास खेलमा जुटेका छन् भने विदेशी प्रशिक्षक र खेलाडीहरू पनि नेपाल आइपुगेका छन्। काठमाडौंबाहिर रहेका टोलीहरू काठमाडौं आउने क्रममा छन्। मंगलबार एनपीएलसँग सम्बन्धित विभिन्न गतिविधिहरू भए।
नेपाली खेलाडीलाई उत्कृष्ट प्रदर्शन गरेमा ६२ लाखको कार प्रदान गरिने घोषणा गरिएको छ। एनपीएलभर उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले ओमोडा ई५ कार पुरस्कारस्वरूप पाउनेछन्। उक्त कारको मूल्य ६२ लाख रुपैयाँ छ। शारडा समूहले कार उपलब्ध गराउने सम्झौतामा नेपाल क्रिकेट संघ र एसपीजी अटोमोबाइल्सबीच मंगलबार हस्ताक्षर भयो।
जनकपुर बोल्ट्सका खेलाडीहरूले उपाधि जितेमा जनही १ लाख रुपैयाँ पुरस्कार पाउने घोषणा मुख्य प्रायोजक एनडीए इन्टरनेसनलले गरेको छ। फाइनल खेल्ने खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। यस अवसरमा जनकपुरले आफ्नो जर्सी र एन्थम सार्वजनिक गर्यो।
कर्णाली याक्सका विदेशी खेलाडी वेष्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायत मंगलबार काठमाडौं आइपुगे। कर्णालीले यसअघि भारतीय स्टार शिखर धवनलाई अनुबन्ध गरिसकेको छ। टोलीमा सोमपाल कामी मार्की खेलाडी र मुख्य प्रशिक्षकका रूपमा ज्ञानेन्द्र मल्ल छन्।
सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईलाई स्ट्रेन्थ पार्टनरका रूपमा जोडेका छन्। मंगलबार सूर्य प्लाईका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काबीच सम्झौता सम्पन्न भयो।
विदेशी खेलाडीहरूको अनुबन्ध क्रम पनि जारी छ। हरेक टोलीले अनिवार्य चार विदेशी खेलाडी राख्नुपर्ने नियम अनुसार धेरै टोलीले पाँचदेखि छ खेलाडी अनुबन्ध गरिसकेका छन्। चितवन राइनोजले दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङको स्थानमा अर्को खेलाडी ल्याउने तयारी गरिरहेको छ।
एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। डिजिटल माध्यमबाट खेलहरू प्रसारण गर्न ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको छ। टेलिभिजनमा भने खेलहरू स्टार स्पोर्ट्सबाट प्रशारण गरिनेछ।
एनपीएलको यस किसिमको चहलपहलले नेपाली क्रिकेटप्रेमीहरूको उत्साह थप बढाएको छ। प्रतियोगिताले नेपाली क्रिकेटको स्तर उकास्ने विश्वास गरिएको छ।


























