पोखरा, १३ मंसिर। नेपाल पुनमगर समाज केन्द्रीय समितिले आगामी मंसिर २९ र ३० गते पोखरामा दोस्रो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ। मंगलबार पोखरामा कार्यवाहक अध्यक्ष खमबहादुर पुनमगरको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिइएको हो।
“मगरखाम मातृभाषा, संस्कार, संस्कृति र भेषभुषा हाम्रो जातीय पहिचान! सम्पूर्ण मगर एकताको पक्षमा नेपाल पुनमगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन!!” भन्ने मूल नाराका साथ महाधिवेशनको कार्यक्रम पोखराको मानव अधिकार चोकबाट झाँकीसहित सुरु गरी पोखरा सभागृह हलमा औपचारिक उद्घाटन गरिनेछ। कार्यक्रममा पूर्व उपराष्ट्रपति नन्द किशोर पुनमगर प्रमुख अतिथि हुनेछन्।
वि.सं. २०७२ सालमा हर्कबहादुर पहरे पुनमगरको नेतृत्वमा स्थापना भएको नेपाल पुनमगर समाजले मगर र पुनमगर समुदायको भाषा, संस्कार, संस्कृति, र भेषभूषाको संरक्षणका लागि कार्य गर्दै आएको छ। हाल समाजले गण्डकी प्रदेशसहित १२ जिल्लामा शाखा समिति विस्तार गरेको छ।
महासचिव खमबहादुर पुनमगरका अनुसार महाधिवेशनमा सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र अन्य जिल्लाबाट करिब २५० प्रतिनिधिहरुको सहभागिता रहनेछ। उनले महाधिवेशनले पुनमगरहरुमा एकताको सन्देश दिनेसमेत बताए।
नेपाल पुनमगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन मगर समुदायको ऐतिहासिक पहिचानको संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।































