१५ मंसिर, काठमाडौं। स्थानीय तहका रिक्त ४१ पदका लागि भोलि आइतबार उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने व्यवस्था गरिएको छ।

यस उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि निर्वाचन हुनेछ। उपनिर्वाचन हुने क्षेत्रहरूमा गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक मतदातालाई प्राथमिकताका आधारमा मतदानको व्यवस्था गरिएको छ। मतदाता परिचयपत्र वा अन्य वैध प्रमाणपत्रका आधारमा मत खसाल्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि मतदान हुनेछ। यसबाहेक मोरङ, दैलेख, दोलखा, रुकुम पूर्व, हुम्ला, र बाजुरा जिल्लाका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुने भएको छ। त्यस्तै, झापा, सुनसरी, सप्तरी, धनुषा, रौतहट, काठमाडौं, नुवाकोट, मकवानपुर, गुल्मी, रोल्पा, बर्दिया, रुकुम पश्चिम, दैलेख, जाजरकोट, कालीकोट, डोल्पा, बझाङ, डोटी, दार्चुला, र कञ्चनपुरका वडाध्यक्ष पदका लागि पनि मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। यसअघि केही क्षेत्रहरूमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख तथा रुकुम पूर्वको पुगा उत्तरगंगा गाउँपालिका वडा नं २ मा क्रमशः नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

मतदान सकिएपछि मतपेटिका तोकिएको स्थलमा लगेर मतगणना सुरु गरिनेछ। मत परिणाम आयोगको आधिकारिक वेबसाइटमा अद्यावधिक गरिने आयोगले जानकारी दिएको छ। आयोगले सबै मतदातालाई आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दै मतदानका लागि आवश्यक निर्देशिकाहरूको पालना गर्न आग्रह गरेको छ। गलत तरिकाले मतदान भएमा मत बदर हुने भएकाले सजग हुन मतदातालाई सचेत गराइएको छ।

– रासस

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0