बेइजिङ, मङ्सिर २०। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्कदै छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका प्रधानमन्त्री ओली बिहीबार दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिन फिङसँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार, भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने द्विपक्षीय चासोका विविध विषयमा विचारविमर्श भएको छ। भ्रमणका क्रममा नेपाल र चीनबीच द्विपक्षीय वार्तापछि विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ।

टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्र दुवै देशका सम्बद्ध अधिकारीहरूले हस्ताक्षर गरेका छन्। यसैगरी, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी र काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न भएको प्रमाणपत्र आदानप्रदान गरिएको छ। भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा पनि सहमति भएको छ।

यस भ्रमणमा विकास आयोजनासम्बन्धी आर्थिक र प्राविधिक सहयोग, नगद सहयोग र स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएका छन्। नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी सम्झौतासमेत भएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण तयार हुँदै गएको र विदेशी लगानी आकर्षणका लागि सरकारले निरन्तर सुधार गरिरहेको बताएका छन्। सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड र चीनस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा भएको थियो।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, विशिष्ट सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरू सहभागी थिए।

यस भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउँदै लगानी र व्यापार विस्तारमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0