२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने छन्। टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
पहिलेका दुई खेलमा पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा छ। भने, सुदूरपश्चिम लगातार तेस्रो जित हात पार्दै आफ्नो विजयी लय कायम राख्न चाहन्छ।
दुवै टोलीले आजको खेलका लागि एक-एक खेलाडी परिवर्तन गरेका छन्। लुम्बिनीले आशुतोष घिरैयाको स्थानमा अर्जुन कुमाललाई खेलाएको छ भने सुदूरपश्चिमले रोहन मुस्तफालाई बाहिर राखेर वसन्त खत्रीलाई टोलीमा समावेश गरेको छ।
लुम्बिनीका चर्चित अष्ट्रेलियन अलराउण्डर बेन कटिङ आज पनि बेन्चमै सीमित छन्। उनले पहिलो खेल खेलेपछि लगातार दुई खेलमा टोलीबाहिर रहेका छन्।
शनिबार सार्वजनिक बिदा परेकाले कीर्तिपुरस्थित मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति छ। टिकट अघिल्लो दिन नै सोल्डआउट भएकाले खेल हेर्न उत्साहित दर्शक बिहानैदेखि मैदान पुगेका छन्।
लुम्बिनी लायन्सको प्लेइङ ११ मा अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता र दिनेश अधिकारी छन्।
सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ मा इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, वसन्त खत्री, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन र नरेन साउद छन्।


























