२६ मंसिर, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाकै अवधिमा १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ। अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्म १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण गरी सरकारले १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको हो। यस अवधिमा सरकारले ६९ अर्ब ३ करोड रुपैयाँ सार्वजनिक ऋण भुक्तानी समेत गरेको छ।

विनिमय दरमा आएको उतार चढावले २१ अर्ब ६५ करोड दायित्व थप भएको छ। जसले गर्दा तीन महिनाको अवधिमा खुद सार्वजनिक ऋण ८८ अर्ब ९३ करोड रुपैयाँ थप भएको कार्यालयको तथ्यांकमा देखिएको छ।

कुल सार्वजनिक ऋण सवा २५ खर्ब

तीन महिनामा थपिएको खुद सार्वजनिक ऋणसँगै अब सरकारले तिर्न बाँकी ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। कार्यालयका अनुसार असोज मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ सार्वजनिक ऋण थियो। पछिल्लो तथ्यांक अनुसार अहिले नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको अनुपातमा ४४.२३ प्रतिशत पुगेको छ। जसमध्ये आन्तरिक ऋणको हिस्सा १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्य ऋणको हिस्सा १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। यो कुल गार्हस्थ्य उत्पादनको अनुपातमा क्रमशः २१.६७ र २२.५६ प्रतिशत हो।

तीन महिनामै उठाइयो वार्षिक लक्ष्यको २५ प्रतिशत ऋण

सरकारले चालु आर्थिक वर्षका कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। असोज मसान्तसम्म १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ ऋण उठाइएको छ, जुन लक्ष्यको २४.९२ प्रतिशत हो। यस वर्ष ३ खर्ब ३३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य छ। असोज मसान्तसम्म १ खर्ब १५ अर्ब उठाइएको छ, जुन लक्ष्यको ३४.८४ प्रतिशत हो। एक वर्षको अवधिमा २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य छ। तीन महिनामा २१ अर्ब ३२ अर्ब रुपैयाँ बाह्य ऋण उठेको छ, जुन लक्ष्यको ९.८२ प्रतिशत मात्र हो। बाह्य ऋण कुनै पनि वर्ष लक्ष्य अनुसार उठ्न सकेको छैन। यसो हुनुमा आयोजना कार्यान्वयनमा हुने ढिलाई र सोधभर्नाले प्रभाव पार्छ।

  

यस वर्ष सरकारले सार्वजनिक ऋण भुक्तानीका लागि मात्र ४ खर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये तीन महिनामै ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको छ। यस अवधिमा ६९ अर्ब ३ करोड रुपैयाँ साँवा खर्च भएको छ। ब्याजको भुक्तानीमा १४ अर्ब ४ करोड रुपैयाँ खर्च भएको छ। यस अवधिमा सरकारले आन्तरिक ऋणको साँवा भुक्तानीमा मात्र ५९ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ। वाह्य ऋणको साँवा भुक्तानीमा ९ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

अनलाइनखबरका अनुसार, तीन महिनामै १ खर्ब ३६ अर्ब रुपैयाँ ऋण लिएको सरकारले वार्षिक लक्ष्यको २५ प्रतिशत ऋण उठाइसकेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0