२५ मंसिर, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले शहरी जनमत पार्टीप्रति असन्तुष्ट रहेको स्वीकार गरेको छ । केन्द्रीय मुख्यालय च्यासलमा मंगलबार साँझ बसेको सचिवालय बैठकमा गत १६ मंसिरमा सम्पन्न उपनिर्वाचनको समीक्षा भएको थियो । समीक्षाका क्रममा एमालेले शहरी जनमत पार्टीसँग सन्तुष्ट नदेखिएको निष्कर्ष निकालेको हो ।

‘एक अध्यक्ष, दुई उपाध्यक्षसहित समग्रमा ८ सिटमा विजयी हासिल गर्यौं’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यति हुँदाहुँदै पनि यो परिणामलाई हामीले अलिक गम्भीरतापूर्वक लिएका छौं । खासगरी शहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौं, त्यो ढंगले परिणाम आउन नसकेकोप्रति अलिक गम्भीर पनि भएका छौं ।’

उपनिर्वाचनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली गत १७ मंसिरदेखि चीन भ्रमणमा रहेकाले एमालेमा उपनिर्वाचनबारे समीक्षा भएको थिएन । तर महासचिव शंकर पोखरेलले सम्बन्धित कमिटीका नेताहरूसँग रिपोर्ट लिएका थिए ।

महासचिव पोखरेलको रिपोर्टकै आधारमा सचिवालयमा उपनिर्वाचनको नतिजाबारे समीक्षा भयो । र, शहरी जनमतप्रति गम्भीर हुनुपर्ने निष्कर्ष निकाल्यो । ‘अझ बढी शहरी जनमतसँग पार्टीलाई जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेका छौं’, ज्ञवालीले भने ।

उपनिर्वाचन भएका कीर्तिपुर नगरपालिकाको मेयर सहित काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्षमा जसरी पनि जित्ने लक्ष्य एमालेले लिएको थियो । ७ मंसिरमा एमालेले दरबारमार्गमा गरेको शक्ति प्रदर्शन उपनिर्वाचनलाई प्रतिष्ठाकै रुपमा लिएको एउटा उदाहरण थियो । नेताहरूको परिचालन र उम्मेदवार चयन प्रक्रिया हेर्दा समेत एमालेले कीर्तिपुरको मेयर पद जसरी पनि जित्न चाहेको थियो । यसको मूल कारण भने शहरी क्षेत्रमा एमालेको अवस्था सुधार गर्ने नेताहरूको नीति लुकेको थिएन । अझ राजधानी काठमाडौंमा एमालेको अवस्था निराशाजनक छ ।

त्यसैले यो उपनिर्वाचन जितेर शहरी जनमत एमालेको पक्षमा रहेको सन्देश दिने एमाले नेताहरूको योजना थियो । तर नतिजा एमालेको पक्षमा आएन । कीर्तिपुरको मेयर, त्यही नगरपालिकाको १ र ४ नम्बर वडा अनि काठमाडौं महानगर–१६ को वडाध्यक्ष गरी सबै एमाले उम्मेदवार पराजित भए ।

यो पराजयको कारण स्वीकार्दै एमाले शहरी जनमतसँग पार्टीलाई जोड्दै जानुपर्ने निष्कर्ष निकालेको छ । सँगै, बैठकले उपनिर्वाचनको अरु प्रवृत्तिबारे पनि विश्लेषण गरेको छ । ‘जुन पार्टीले जितेको छ, त्यो ठाउँमा परिणाम चाहिँ फरक आएको छ । अर्थात् जनमत चाहिँ चेञ्ज भएको देखिन्छ,’ उपमहासचिव ज्ञवालीले भने । यसको कारण जनप्रतिनिधिहरूप्रति जनता सन्तुष्ट नरहेको निष्कर्ष एमालेले निकालेको छ । यस्तो विश्लेषण एमालेका अरु नेताहरूले सार्वजनिक रुपमै भनिरहेका थिए ।

उपनिर्वाचनको नतिजापछि शहरी जनमत सुधार्नुपर्ने निष्कर्षमा पुगेको एमालेले सामाजिक सञ्जालहरूमा कार्यकर्ता सक्रिय बनाउने निर्णय पनि गरेको छ । उपमहासचिव ज्ञवालीका अनुसार सामाजिक सञ्जालमार्फत् पार्टी नेतृत्व र सरकारमाथि हुने आक्रमणको राजनीतिक प्रतिवाद गर्ने निर्णय भएको छ ।

‘पछिल्लो समय सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै राजनीतिक दलहरु, दलका नेताहरू, सरकार र प्रधानमन्त्रीको चरित्र हत्या गर्ने, भ्रमहरू फैलाउने, जनतामा निराशाहरू सिर्जना गर्ने, सामाजिक सद्भावहरूलाई खल्बल्याउने,’ उनले भने, ‘र कतिपय राजनीतिक नेताहरूले आफ्नो क्षणिक स्वार्थका लागि त्यस्ता कुराहरुलाई समेत बढावा दिने प्रवृत्ति किमार्थ पनि उचित होइन । यस्ता प्रकारका भ्रम प्रचार र मिस्टेकहरूले कसैलाई पनि लाभ दिँदैन ।’

सामाजिक सञ्जालबाट हुने त्यस्ता आक्रमणको प्रतिवादमा पार्टी पंक्ति उतार्ने निर्णय एमालेले गरेको छ। ‘हाम्रो पार्टी पंक्तिले गलत कुराहरूको आलोचना गर्नुपर्छ, खण्डन गर्नुपर्छ, र सही विचारहरूको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । गलत कुराहरुको यथोचित प्रतिवाद पनि गर्नुपर्छ,’ उनले भने ।

बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको समीक्षा गरेको छ ।

स्रोतः अनलाइनखबर

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0