२६ मंसिर, काठमाडौं । आगामी ११ पुसदेखि चितवनमा ‘१८औं हात्ती तथा चितवन पर्यटन महोत्सव’ हुने भएको छ । २०५५ सालदेखि चितवनमा यो महोत्सव हुन थालेको थियो । कोरोना महामारीका कारण महोत्सव तीन वर्ष रोकिएको थियो । चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको महोत्सवलाई गत वर्षदेखि निरन्तरता दिइएको हो । यसपालि १८औं पटक हुन लागेको हो ।

कोरोना महामारी र आर्थिक मन्दीले थलिएर तंग्रिँदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न सम्बन्धित एवं जिम्मेवार संघसंस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ । महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटक आगमन वृद्धि हुने गरेको आयोजकको दाबी छ । महोत्सवमा हुने गतिविधिले पर्यटन विकास बाहेक हात्तीको महत्त्व समेत उजागर गर्दै आएको हानले जनाएको छ ।

प्लास्टिकजन्य पदार्थ निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट महोत्सव प्रवर्द्धन गर्ने प्रयास गरिएको हानको भनाइ छ । बहुल जाति, बहुभाषा र कलासाँस्कृति प्रवर्द्धन गर्दै भविष्यको संरक्षण गर्नु पनि महोत्सवको विशेषता रहेको आयोजकले जनाएको छ । विभिन्न गतिविधिमा निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० हात्ती सहभागी हुनेछन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएका हुन् ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0