मंसिर, पोखरा। पछिल्लो समय नेपालको आन्तरिक तथा बाह्य ऋणको अवस्था बढ्दो छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालको आन्तरिक र बाह्य गरी कुल २५ खर्ब २३ अर्ब रुपैयाँ ऋण छ । यो भनेको नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा ४४ प्रतिशतले बढि हो । यसमा आन्तरिक ऋणको हिस्सा २१.६८ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा २२.५६ प्रतिशत रहेको छ । पछिल्लो जनगणतना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । देशको कुल ऋणलाई जम्मा जनसंख्यासँग हिसाब गर्दा प्रत्येक नेपालीको भागमा ८६ हजार ५१० रुपैयाँ ऋण पर्नेछ ।
यसरी नेपालीको शिरमा ऋणको भारी प्रत्येक बर्ष बढ्दो छ । त्यो बढ्नुमा थुप्रै कारणहरु छन् । अर्थ विज्ञहरुले यसका धेरै कारणहरु बताउँदै आएका छन् । मुख्य कारण ऋणको सही सदुपयोग नगर्र्नु हो । आन्तरिक र बाह्य रुपमा ऋण ल्याउन सक्ने तर त्यसको सदुपयोग गर्न नसक्ने मुख्य समस्या हो । नेपालले लिएको ऋण उत्पादनशिल क्षेत्रमा भन्दापनि अनुत्पादनशिल क्षेत्रमा ज्यादा लगानी गरिरहेको छ । कर्मचारीलाई तलब खुवाउन समेत नेपाल सरकारले ऋणको सहायता लिने गरेको छ परिणामतः प्रत्येक वर्ष नेपालीको शिरमा ऋणको भारी बढ्दो छ ।
नेपालमा जतिपनि पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् त्यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा आन्तरिक तथा बाह्य ऋणको संलग्नता रहेकै छ । ठूलाठूला भ्यूटावर, मठ मन्दिरमा खर्बौं लगानी छ । तर त्यसबाट दिने प्रतिफल प्रभावकारी छैनन् । कैयौँ भ्युटावरहरुमा झार उम्रिएका छन् । भ्यूटावरमा बर्षमा एक जना व्यक्ति नपुग्ने भ्यूटावरहरु छन् । कैयौँ पुलको अवस्था त्यस्तै छ । हामीले आवश्यकता भन्दापनि अनावश्यक क्षेत्रमै बढि लगानी गरिरहेका छौँ । बाह्य तथा आन्तरिक रुपमा लिइएको ऋण कमिसन र घुसमा पुगेका हुन्छन् ।
ऋण लिनुलाई अन्यथा मान्न सकिदैन तर त्यो ऋणको उपयोग भएको छ वा छैन भन्ने महत्वपूर्ण प्रश्न हो । नेपालले लिएको ऋण सदुपयोग नहुनुनै समस्या हो । ऋण लिएर उद्योग वा घरेलु उत्पादनमा लगानी गरेको भए त्यसले कमाई दिन्थ्यो, कमाईले ब्याज र साँवा तिर्न सहज हुन्थ्यो । रोजगारको सृजना हुन्थ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो । नेपालीलाई ऋणको भार कम हुन्थ्यो । त्यसैले आन्तरिक तथा बाह्य देशबाट लिइने ऋणलाई जथाभावी प्रयोग नगरी उद्योग र उत्पादनमा लगानी गरियोस जसले नेपालको अर्थतन्त्र सुधारको लागि सहयोग पुर्याउनेछ ।
नेपालमा ऋणको सही सदुपयोग गर्नका लागि केही महत्वपूर्ण कदमहरु चाल्न आवश्यक छ । पहिलो, ऋणको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ । ऋणको प्रयोग कहाँ र कसरी भइरहेको छ भन्ने जानकारी सार्वजनिक गरिनुपर्छ । दोस्रो, ऋणको सदुपयोगका लागि प्रभावकारी योजना र रणनीति बनाउनुपर्छ । उत्पादनशिल क्षेत्रहरुमा लगानी बढाउनुपर्छ जसले दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउँछ । तेस्रो, अनुत्पादनशिल क्षेत्रमा हुने अनावश्यक खर्च कटौती गर्नुपर्छ ।
नेपालको ऋणको भार कम गर्नका लागि सरकार र सम्बन्धित निकायहरुले दीर्घकालीन सोच र योजनाका साथ काम गर्नुपर्छ । ऋणको सही सदुपयोगले मात्र देशको आर्थिक अवस्था सुधार गर्न सकिन्छ ।


























