२८ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरिएको हो।
संविधानको धारा २८२ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यी नियुक्तिहरू गरेका हुन्। पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
राष्ट्रपति कार्यालयका अनुसार यी नियुक्तिहरूले नेपाल र सम्बन्धित देशबीचको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।





























