२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले आफ्नो दोस्रो जित दर्ता गर्दै चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ। यस जितसँगै विराटनगरको प्लेअफ सम्भावना कायमै रहेको छ। लिग चरणमा एक खेल बाँकी रहँदा विराटनगरले ४ अंक जोडेको छ।

तर, यो हारले चितवनको प्लेअफ सम्भावना भने कठिन बनाएको छ। ६ खेलमा ६ अंकमात्र जोडेको चितवनले लिगको अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ। विराटनगरले आफ्नो अन्तिम खेल काठमाडौं गुर्खाजविरुद्ध खेल्नेछ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले बनाएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ६ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो। चितवनका लागि अमर राउटेलाले ४२, कप्तान कुशल मल्लले २५, सन्तोष कार्कीले २८, र रवि बोपाराले २० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

बलिङमा विराटनगरका सन्दीप लामिछानेले २ विकेट लिए भने बसिर अहमद, क्रिस सोल, लोकेश बम, र सुवास भण्डारीले समान एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले खराब सुरुवातपछि २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो। बसिर अहमदले अविजित ६८ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। मार्टिन गुप्टिलले ४५, राजेश पुलामीले ३३ रन बनाए भने अतिरिक्त २३ रन पनि टोलीले प्राप्त गरेको थियो।

चितवनका बलर रिजन ढकालले २ विकेट लिए भने कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान १ विकेट लिएका थिए।

विराटनगर र चितवनसँगै अन्य चार टोली सुदूरपश्चिम रोएल्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज, र पोखरा एभेन्जर्सको पनि प्लेअफ सम्भावना बाँकी छ। जनकपुर बोल्ट्सले भने यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। लुम्बिनी लायन्स भने १ मात्र जित निकाल्दै लिग चरणमै रोकिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0