२९ मंसिर, पोखरा। नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको संयुक्त आयोजनामा पाँच दिनसम्म चलेको नवौं पर्वतीय महोत्सव बिहीबार सम्पन्न भएको छ। महोत्सव अवलोकन गर्न २५ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए।

समापन समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण, र नेपालको अर्थतन्त्रबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरे। उनले गण्डकी प्रदेश सरकार अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रवर्धन र विकासमा सघाउन तत्पर रहेको बताए। मन्त्री पौडेलले संग्रहालयलाई पोखरा र गण्डकी प्रदेशकै गौरवको केन्द्रका रूपमा विकास गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए।

नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले महोत्सवको निरन्तरताले क्षेत्रीय पर्यटन प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले पर्वतीय क्षेत्रमा थप पर्यटक भित्र्याउन प्रयास जारी रहेको उल्लेख गरे। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले महोत्सवले पर्वतीय क्षेत्रको सम्भावना, जलवायु परिवर्तनका चुनौती, र समाधानका उपायबारे गहिरो छलफलको अवसर प्रदान गरेको बताइन्।

जलवायु परिवर्तनको प्रभावबारे कार्यक्रममा सरोकारवालाले गहन छलफल गरेका थिए। अन्नपूर्ण क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरबारे “अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरहरू” शीर्षकमा आयोजित छलफलको संयोजन जनप्रिय बहुमुखी क्याम्पसको बिएमटिएम कार्यक्रमले गरेको थियो।

कार्यक्रममा वातावरण विज्ञ प्राडा विकास केसीले जलवायु परिवर्तनका कारण अनियमित वर्षा र त्यसले हुने क्षतिलाई न्यूनीकरण गर्न प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनका गम्भीर कारण र समाधानका लागि थप अनुसन्धानको आवश्यकता औंल्याए। एक्यापका प्रमुख डा. रविन कडरियाले जलवायु परिवर्तनको असर रोक्न नेपालीको मात्र सामर्थ्य पर्याप्त नहुने भएकाले अन्तर्राष्ट्रिय सचेतनाको खाँचो रहेको बताए।

टानका निवर्तमान अध्यक्ष धर्मराज पन्थीले जलवायु परिवर्तनका कारण पदयात्रा पर्यटनमा चुनौती थपिएको बताउँदै नेपाल आउने पर्यटकहरू प्राकृतिक सुन्दरतामा कमी महसुस गर्न थालेको जानकारी गराए।

महोत्सव अवधिमा संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन, र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिएका थिए। महोत्सव अवलोकनका लागि संग्रहालय प्रवेशमा निःशुल्क व्यवस्था गरिएको थियो। संग्रहालयलाई पर्वतीय जीवन, सभ्यता, र इतिहास बुझ्न खोज्नेहरूका लागि अनौपचारिक अनुसन्धान केन्द्रका रूपमा विकास गरिएको छ, जहाँ वार्षिक दुई लाखभन्दा बढी आगन्तुक आउने गरेका छन्।

पाँच दिनसम्म चलेको पर्वतीय महोत्सवले नेपालको पर्वतीय क्षेत्र र पर्यटन प्रवर्धनमा नयाँ आयाम थप्दै विश्वव्यापी रूपमा पर्वतारोहण र संस्कृति प्रचलनका विषयमा जागरुकता फैलाउन भूमिका खेलेको आयोजकको विश्वास छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0