२९ मंसिर, पोखरा । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, तीनै तहको सरकारको खातामा जम्मा नगद मौज्दात रकम २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। असार मसान्तमा ९१ अर्ब ७८ करोड रुपैयाँ रहेको नगद मौज्दात ४ महिनामा १ खर्ब २२ अर्ब रुपैयाँले बढेर २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो।
गत वर्ष कात्तिक मसान्तमा तीनै तहका सरकारको खातामा १ खर्ब ३८ अर्ब रुपैयाँ नगद मौज्दात रहेको थियो, जसमा संघीय सरकारसँग ३० अर्ब १० करोड रुपैयाँ नगद मौज्दात थियो। यसरी बढेको नगद मौज्दात सरकारी ऋण व्यवस्थापनका कारण हो। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी खर्चको आवश्यकता भन्दा बढी आन्तरिक ऋण उठाएको र यसले नगद मौज्दात बढाएको जनाएको छ। यसरी ऋण लिँदा ब्याज खर्च मात्र थप भएको छ।
गत वर्षको तुलनामा यस वर्ष ४ महिनामा ४५.८७ प्रतिशत बढी ऋण उठाइएको छ। ४ महिनामा १ खर्ब ४३ अर्ब रुपैयाँ आन्तरिक ऋण र १५ अर्ब ४२ करोड रुपैयाँ वैदेशिक ऋण उठाइएको छ। यस वर्ष सरकारले ४ महिनामा १८.९५ प्रतिशत खर्च मात्र बढाएको छ।
यस वर्षको ४ महिनामा सरकारले २ अर्ब ८७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने ५ अर्ब ९७ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ। यसैगरी, सरकारले २ अर्ब ९७ करोड रुपैयाँ लगानी फिर्ता पनि गरेको छ।
संघीय सरकारको नगद मौज्दात असार मसान्तमा ४३ अर्ब १९ करोड नोक्सानमा रहेको अवस्थामा ४५ अर्ब ८६ करोड रुपैयाँको बचतमा पुगेको छ। सातै प्रदेशसरकारसँग २९ अर्ब ८० करोड रुपैयाँ नगद मौज्दात छ, भने ७५३ स्थानीय सरकारसँग १ खर्ब २२ अर्ब रुपैयाँ नगद मौज्दात रहेको जानकारी प्राप्त भएको छ। सरकारका विभिन्न कोषमा १६ अर्ब १३ लाख रुपैयाँ पनि जम्मा छ।




























