लमही, १ पुस — अनलाइनखबरका अनुसार दाङको लमही नगरपालिका वडा नम्बर ९ स्थित च्याउ खोलामा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। लमही–कोहलपुर सडकखण्डमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र ४२ वर्षीया तिर्थी थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले अनलाइनखबरलाई जानकारी दिए। मृतकका शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।
बस कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा शिवराजका ४५ वर्षीय मिथिया थारु, ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि लमही अस्पतालमा पुर्याइएको छ। गम्भीर घाइतेहरूको अवस्था हेरी आफन्तको जिम्मा लगाउँदै रिफर गर्ने काम भइरहेको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।


























