पोखरा, २ पुस । साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा नेपालमा २२ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी गर्ने प्रतिबद्धता व्यक्त भएको छ। उद्योग विभागका अनुसार मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

स्वचालित प्रणालीमार्फत पाँच महिनामा २ अर्ब १३ करोड १ लाख ७ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने मंसिरमा मात्र यो प्रणालीमार्फत ५० करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। नियमित प्रणालीमार्फत भने पाँच महिनामा १८ अर्ब ६४ करोड ७२ लाख ५६ हजार ४ सय रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ। मंसिरमा मात्रै यो प्रणालीबाट १ अर्ब ६० करोड ९५ लाख रुपैयाँको लगानी प्रतिबद्धता भएको छ।

यो अवधिमा ३ सय १९ उद्योगका लागि २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। तीमध्ये १ सय ३८ उद्योगले स्वचालित प्रणालीबाट लगानीको प्रस्ताव गरेका छन् भने १ सय ८१ उद्योगले नियमित प्रक्रियाबाट स्वीकृति पाएका छन्।

साना उद्योगमा बढी लगानी आकर्षित भएको देखिएको छ। पाँच महिनामा ३१२ साना, ४ मझौला र ३ ठूला उद्योगले लगानी स्वीकृति लिएका छन्। विदेशी लगानीका लागि १ सय ४५ प्रस्ताव पर्यटन क्षेत्रमा आएको छ, जसले १२ अर्ब ७६ करोड ६५ लाख ५९ हजार रुपैयाँ बराबरको प्रतिबद्धता जनाएका छन्। सेवा क्षेत्रमा ४ अर्ब ८३ करोड १० लाख १० हजार रुपैयाँ र सूचना प्रविधिमा ६७ करोड ८७ लाख १३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता देखिएको छ।

विभागका अनुसार हालसम्म स्वचालित प्रणालीबाट २ सय ७७ र नियमित प्रणालीबाट ६ हजार ४ सय ४१ उद्योगले लगानी स्वीकृति लिएका छन्। यो अवधिमा १ हजार ७ सय ८२ लगानीकर्ताले बिजनेस भिसा पाएका छन्।

तर, प्रतिबद्धता आएको लगानी वास्तविक रूपमा भित्रिने दर भने कम छ। चार महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ प्रतिबद्धतामा ५ अर्ब ७६ करोड मात्रै भित्रिएको छ। साथै, लाभांश, सेवा शुल्क, र रोयल्टीबापत ठूलो रकम विदेश गइरहेको तथ्यांकले देखाएको छ।

नेपालले वैदेशिक लगानीमा देखाएको चासोले रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। प्रतिबद्धताअनुसार ३ लाख ३७ हजार ५ सय १४ रोजगारी सिर्जना हुने योजना रहेको छ। विदेशबाट आएको लगानीले नेपालको आर्थिक क्षेत्रलाई थप बलियो बनाउने आशा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0