मकवानपुर । बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १० करोड रुपैयाँ बजेट प्रदान गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार यो रकम अनुदानका रूपमा उपलब्ध गराउने निर्णय गरेको हो।

बागमती प्रदेशका प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार रंगशाला निर्माणका लागि ७० प्रतिशत लागत प्रदेश सरकारले व्यहोर्ने छ भने ३० प्रतिशत भरतपुर महानगरपालिकाले प्रदान गर्नेछ। यो सहमति २०८० साल माघ २३ गते मन्त्रिपरिषद्को बैठकमा भएको थियो। गत वर्ष प्रदेश सरकारले १ करोड ८० लाख रुपैयाँ प्रदान गरिसकेको थियो। कुल ८० करोड रुपैयाँको लागत अनुमान रहेको यो परियोजनाका लागि प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुरले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन्।

यस रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले २०७८ सालमा बजेट अभावका कारण काम रोक्नुपरेको थियो। अब भने प्रदेश सरकारले स्रोत सुनिश्चित गरी निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया सुरु गर्ने स्वीकृति प्रदान गरेको छ।

प्रमुख कार्यकारी नियुक्ति र अन्य निर्णय

त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले नुवाकोटकी शान्ति लामालाई प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। शान्ति लामाले २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन्।

बैठकले प्रदेश प्रमुख कार्यालय सबलीकरणका लागि १० लाख रुपैयाँ अख्तियारी दिने र विभिन्न विधेयक संशोधन र नयाँ मापदण्ड स्वीकृत गर्ने निर्णय पनि गरेको छ। अपांगता भएका व्यक्तिहरूका लागि सशक्तीकरण कार्यक्रम लागू गर्न तथा खानेपानी ऐन निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0