पोखरा । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ मूल नारासहित पोखराको फेवाताल किनारमा २५ औँ सडक महोत्सवको भव्य शुभारम्भ भएको छ। पाँच दिनसम्म चल्ने यो महोत्सवलाई रजत महोत्सवका रूपमा मनाउन लागिएको आयोजक रेवान पोखराले जनाएको छ। अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न विगत २४ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सवले पोखरालाई पर्यटकीय केन्द्रको रूपमा थप स्थापित गराएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै यो पर्वले पोखराको पर्यटन पहिचानलाई थप मजबुत बनाएको बताए। साथै, उनले हाल स्थगित प्याराग्लाइडिङ सेवा तत्काल सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै पोखरालाई जनवरीभित्र ‘पर्यटकीय राजधानी’का रूपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे। महोत्सवको उद्घाटन अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति संस्कृतिविद् जगमान गुरुङ, वरिष्ठ लोकगायिका हरिदेवी कोइरालालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो।

रेवान पोखराका संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङले महोत्सवको अवधारणाबारे चर्चा गर्दै युरोपका गल्लीमा यस्तै महोत्सव हुने गरेको उदाहरण दिए। उनले पोखरामा पनि यो परम्परालाई थप व्यावसायिक र प्रभावकारी बनाउने प्रयास गरिएको उल्लेख गरे। रेवानका कावा अध्यक्ष सङ्घर्ष विष्टले प्याराग्लाइडिङ बन्द हुनुका कारण पोखराको पर्यटन क्षेत्रमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै महोत्सवले पर्यटन पुनरुत्थानमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

तीन किलोमिटर खुला सडकमा सञ्चालन भइरहेको महोत्सवमा सडकमै सांस्कृतिक, मनोरञ्जनात्मक र व्यापारिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। महोत्सव स्थललाई रङ्गीचङ्गी ध्वजापताका र रङ्गरोगनले सिंगारिएको छ। मुख्य स्टेज कोमागाने पार्कमा निर्माण गरिएको छ भने त्यहाँ विभिन्न परिकारका स्टल, बाल उद्यान, हस्तकला प्रदर्शनीजस्ता कार्यक्रम महोत्सवका आकर्षण बनेका छन्।

यस वर्ष महोत्सवमा सातै प्रदेशका सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहनेछ। प्रदेश–१ बाट सतार जातिको नृत्य, प्रदेश–२ बाट मैथिली झाँकी, प्रदेश–३ बाट नेवारी परम्परागत कला, प्रदेश–४ बाट गुरुङ संस्कृति, प्रदेश–५ बाट थारु नृत्य, प्रदेश–६ बाट हुम्लेली झाँकी, र प्रदेश–७ बाट देउडा नृत्य प्रस्तुत गरिनेछ। साथै, छिमेकी देश जापान, चीन, दक्षिण कोरिया र भारतका सांस्कृतिक कार्यक्रमले पनि महोत्सवलाई विशेष बनाएको छ।

महोत्सवमा पर्यटकहरूको मनोरञ्जनका लागि लोकदोहोरी, लाइभ कन्सर्ट, साहसिक खेलकुद, वृत्तचित्र प्रदर्शन र बाल उद्यानजस्ता कार्यक्रम पनि आयोजना गरिएको छ। स्थानीय उत्पादन, विशेषगरी सुन्तला र कृषिजन्य सामग्रीको प्रदर्शनीले महोत्सवमा पृथक र व्यावसायिक पक्ष थपेको छ।

आयोजकले महोत्सव अवधिमा करिब पाँच लाख पर्यटक भित्र्याउने र ५० करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरेको छ। यसले पोखराको पर्यटन प्रवर्द्धनमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0