काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई गलत संगतबाट जोगिन र समयको सदुपयोग गर्न आग्रह गरेका छन्। च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाजमा युवाहरूलाई गलत बाटोमा लैजाने अनेक गतिविधिहरू भइरहेको भन्दै सचेत रहन सुझाव दिए।
प्रधानमन्त्री ओलीले उदाहरण दिँदै भने, “मौरीको संगत गर्नुभयो भने फूलबारीमा पुगिन्छ, झिंगाको पछि लाग्नुभयो भने फोहोरको डंगुरमा पुगिन्छ। झिंगाले कहिल्यै फूलको रस चुस्दैन र फूलमा बस्दैन पनि। त्यसैले युवाहरूले संगत गर्नुअघि राम्रो व्यक्ति छान्नुपर्छ।”
उनले युवाहरुलाई समयको महत्व बुझ्न र गलत व्यक्तिहरुको प्रभावबाट बच्न आह्वान गरे। “मानिस आफैं बिग्रिँदैन, संगतले बिग्रिन्छ। कोही ड्रग्समा फस्ने मानिस आफैं फस्दैन, संगतकै कारण त्यहाँ पुग्छ। त्यसैले गलत संगतबाट बच्नुस् र आफ्नो समय सही ठाउँमा खर्च गर्नुस्,” ओलीले थपे।
प्रधानमन्त्री ओलीले पारिवारिक र सामाजिक वातावरणले व्यक्तिको निर्माणमा भूमिका खेल्ने भन्दै सही संगत र सकारात्मक वातावरणले मात्रै व्यक्तित्वलाई उचाइमा पुर्याउन सक्ने धारणा राखे। “आमाबाबु र साथीभाइबाट प्राप्त गुणले व्यक्तिको विकास हुने हो। त्यसैले सही गुणको छनोट गर्न सिक्नुपर्छ,” उनले भने।
ओलीले एमाले पार्टीलाई देश निर्माणको अभियानमा अग्रसर भएको दाबी गर्दै अन्य राजनीतिक दलहरूले आफूलाई कमजोर देखाउन खोजेको आरोप पनि लगाए। उनले भने, “एमाले देश निर्माणमा हिंडेको छ। तर, अरू दलहरूले हामीलाई नराम्रो भन्न मात्रै खोजेका छन्, किनकि उनीहरू आफैं राम्रो हुन सकिरहेका छैनन्।”
युवाहरूको सक्रिय सहभागिताले मात्र राष्ट्रको समृद्धि सम्भव हुने बताउँदै प्रधानमन्त्री ओलीले युवा पंक्तिलाई सकारात्मक सोच, उद्यमशीलता र राष्ट्रप्रति जिम्मेवारीको भावना बोकेर अघि बढ्न सुझाव दिए। उनका अनुसार, एमालेले युवाहरुलाई सशक्त बनाउन विभिन्न योजनाहरू अघि बढाएको छ।
युवाहरूलाई आफ्नो समय र ऊर्जाको सही सदुपयोग गर्न प्रेरित गर्ने प्रधानमन्त्री ओलीको यो सन्देशले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




























