पोखरा, १६ पुस । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापन समारोह आइतबार पोखरामा सम्पन्न भएको छ। गत मंसिर २८ मा सम्पन्न निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा निर्वाचित २१ सदस्यीय कार्यसमितिले पदभार ग्रहण गरेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन समिति संयोजक तथा प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराए। मुख्यमन्त्री पाण्डेले उनीहरूलाई प्रमाणपत्र प्रदान गरे। तीन वर्षका लागि निर्वाचित कार्यसमितिमा उपाध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी रहेका छन्।

कार्यसमितिको खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भएका छन्। महिला सदस्यमा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, दलित सदस्यमा विजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ र मञ्जुल शाक्य, तथा अल्पसंख्यक सदस्यमा सुन्दरकुमार थकाली निर्विरोध चयन भएका छन्।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संघीयताको विषयमा गुनासो गर्दै संघीयताप्रति पूर्वाग्रह राख्नेहरूको आलोचना गरे। उनले प्रदेशस्तरीय अनुभवी नेताहरू संघीयताको पक्षमा नबोल्नु आश्चर्यजनक रहेको बताए। प्रेस रजिस्ट्रार बिमला भण्डारीले आफ्नो कार्यालयको कार्यविधि निर्माण अन्तिम चरणमा रहेको जानकारी दिइन्।

महासंघका केन्द्रीय सचिव सोनी शर्माले संघीयताको मर्मअनुसार पत्रकारितालाई अघि बढाउनुपर्नेमा जोड दिँदै सकारात्मक र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याइन्। नवनिर्वाचित अध्यक्ष रमेश पौडेलले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पत्रकारिताको दिगो भविष्य सुनिश्चित गर्न नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने आवश्यकता रहेको बताए।

निवर्तमान महासचिव गोविन्द सुवेदीले नवनिर्वाचित समितिलाई सफलताको शुभकामना दिँदै श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नवनिर्वाचित महासंघ सचिव सोनी शर्मा र प्रेस रजिस्ट्रार बिमला भण्डारीलाई विशेष सम्मान गरिएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0