काठमाडौँ, १६ पुस। नेपालमा अब स्तन क्यान्सरको वंशाणुगत परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्न सकिने भएको छ। यसअघि यो परीक्षणका लागि नमूना विदेश पठाउनु पर्थ्यो, जसले समय र खर्च दुवै बढाउँथ्यो। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा, प्रयोगशालाले अब देशभित्रै यो परीक्षण सफलतापूर्वक सञ्चालन गर्न थालेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रञ्जनराज भट्टका अनुसार, अब देशका कुनै पनि भागबाट प्राप्त स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि नमूना परीक्षण गर्न सकिन्छ। यसअघि, यस्तो परीक्षण गर्न भारत र अन्य देशहरूमा नमूना पठाउनु पर्थ्यो, जसका कारण समय र खर्च दुबै बढी लाग्थे।

यस परीक्षणले वंशाणुगत कारणले स्तन क्यान्सर हुने सम्भावना पत्ता लगाउन मद्दत पुर्याउनेछ, जसले प्रारम्भिक चरणमै उपचार गर्न सम्भव बनाउने छ। चिकित्सकहरूको अनुसार, यो परीक्षणले परिवारका सदस्यलाई क्यान्सरबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

यससँगै, प्रयोगशालाले अब क्यान्सरसम्बन्धी अन्य चार प्रकारका नमूना परीक्षण पनि नियमित रूपमा सञ्चालन गर्ने बताएको छ। यसको मूल्य भारतमा ६० हजार रुपैयाँसम्म पुग्ने गरेको छ, तर नेपालमा यो परीक्षण ३० हजार रुपैयाँभन्दा कममा उपलब्ध हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0