तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन मङ्गलबारदेखि सञ्चालनमा आएको छ। मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको यो सबस्टेसन चार्ज भएपछि मर्स्याङ्दी करिडोरका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न सहज भएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनले देशको एकीकृत विद्युत् प्रणाली थप भरपर्दो, गुणस्तरीय र पर्याप्त हुने बताए। मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि आपूर्ति गरिने उनले जानकारी दिए।

८२ किलोमिटर लम्बाइको मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन १३२ केभीमा चार्ज गरी २०७९ असारदेखि सञ्चालनमा ल्याइएको थियो। मार्कीचोक सबस्टेसन चार्ज गरिएपछि यो लाइन अब २२० केभीमा सञ्चालन भइरहेको छ।

मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माणका लागि करिब सवा दुई अर्ब रुपैयाँ खर्च भएको आयोजना प्रमुख लक्ष्मण फुँयालले जनाए। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण, नर्वे सरकारको अनुदान तथा नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा यो आयोजना निर्माण गरिएको हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0