काठमाडौं, पुस १९ गते। नेपाल जस्तो विकासोन्मुख मुलुकको आर्थिक विकास र समृद्धिका लागि लगानी सम्मेलनको महत्त्वपूर्ण भूमिका रहने भए पनि सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता अनुसार वास्तविक लगानी भित्रिन नसक्दा अपेक्षित लाभ हासिल हुन सकेको छैन। पर्याप्त प्राकृतिक स्रोत र सम्भावना भएर पनि ती स्रोतको उचित उपयोगका लागि लगानी अपरिहार्य छ। लगानीले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक संरचनामा विविधता ल्याई मुलुकलाई समृद्धि तर्फ डोर्‍याउँछ।

वैदेशिक लगानी भित्र्याउन राजनीतिक स्थिरता, सुशासन र भ्रष्टाचारमुक्त वातावरण पहिलो शर्त हो। लगानीकर्ताले सुरक्षा, स्थिरता र कानुनी सुनिश्चितता खोज्ने हुँदा बारम्बारको राजनीतिक अस्थिरताले लगानीकर्तालाई हतोत्साहित पार्छ। त्यसैले स्थिर राजनीतिक वातावरण, ऐन कानुनको प्रभावकारी कार्यान्वयन र प्रशासनिक प्रक्रियामा सुधार आवश्यक छ। झन्झटिलो कानुनी प्रक्रिया र कर्मचारीतन्त्रको मनोवृत्तिमा परिवर्तन गरी लगानीका लागि सहज वातावरण बनाउनु जरुरी छ। एकद्वार प्रणालीबाट लगानी प्रक्रियालाई सरल बनाउनु पर्दछ।

भौतिक पूर्वाधारको विकास वैदेशिक लगानी आकर्षित गर्ने अर्को महत्त्वपूर्ण आधार हो। यातायात, सञ्चार, ऊर्जा लगायतका आधारभूत पूर्वाधार विकासमा जोड दिनुपर्छ। रोजगारी सिर्जना गर्न सक्ने कृषि, ऊर्जा, पर्यटन, औद्योगीकरण र सूचना प्रविधि जस्ता क्षेत्रमा न्यूनतम पूर्वाधार विकास गरी लगानी आकर्षणका लागि रणनीतिक योजना बनाउनु पर्छ। नेपालमा ऊर्जा उत्पादनका लागि जलस्रोतको प्रचुर सम्भावना छ भने पर्यटन उद्योग पनि देशको प्रमुख आर्थिक क्षेत्र बन्न सक्ने बलियो आधार छ। कृषिमा आधुनिक प्रविधि भित्र्याएर व्यावसायिक उत्पादन बढाउने सम्भावना पनि छ।

प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नेपालले अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ। लगानीका क्षेत्रको वर्गीकरण गरी सन्तुलित विकासका लागि कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने स्पष्ट खाका तयार पार्नुपर्छ। वैदेशिक लगानीको स्थिति, लगानीलाई प्रभाव पार्ने अन्तरविषय, हालसम्मका प्रयास र उपलब्धिबारे अध्ययन अनुसन्धान गरी थप सुधार गरेर वैदेशिक लगानी भित्र्याउने रणनीति बनाउनु पर्छ। तीनै तहका सरकारले स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्न नीतिगत सुनिश्चितता र सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ।

नीतिगत अस्थिरताले लगानीलाई नकारात्मक असर पार्ने हुँदा राज्यले स्थिर लगानी नीति अगाडि ल्याई लगानीकर्तालाई संस्थागत तथा नीतिगत स्थायित्वको विश्वास दिलाउनुपर्छ। विश्वव्यापी मूल्य शृङ्खलामा जोडिन र निर्यातलाई महत्त्व दिने उद्देश्यले वैदेशिक लगानीलाई उच्च प्राथमिकतामा राखेर नीतिगत समस्या समाधान गर्दै ठुलो मात्रामा विदेशी पुँजी भित्र्याउने रणनीतिक योजना बनाउनु पर्छ। प्रशासनिक ढिलासुस्तीलाई व्यवस्थित बनाउँदै आयात निर्यातमा लागत घटाएर व्यापार व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु पर्छ। कच्चा पदार्थ र अर्धतयारी वस्तुको भन्सार दर घटाएर लागत कम गर्ने नीतिलाई निरन्तरता दिनुपर्छ।

प्रत्यक्ष वैदेशिक लगानीको माध्यमबाट आर्थिक विकास र समृद्धिमा फड्को मार्न सफल मुलुकबाट पाठ सिक्दै वैदेशिक लगानी भित्र्याउने नीति तथा अनुकूल वातावरण बनाउन सबै राजनीतिक दलले एक्यबद्धता जनाउनु पर्छ। मुलुकको राजनीतिक संरचनामा आएको परिवर्तन अनुसार आर्थिक संरचनालाई परिमार्जन गरी सहज लगानीमैत्री वातावरण बनाउनु पर्छ। सहज र सरल कर प्रणाली, स्थिर विनिमय दर तथा लगानीमैत्री वित्तीय नीतिहरू अत्यन्त महत्त्वपूर्ण हुने भएकाले विशेष आर्थिक क्षेत्रको व्यवस्थापन, विनिमय दरको स्थिरता र लचिलोपनको नीति, न्यून कर तथा भन्सार दर नीति, लगानीकर्तालाई प्रदान गरिने सहुलियतका प्याकेज बढाउँदै लगानी आकर्षित गर्नुपर्छ। अन्तर्राष्ट्रिय व्यापार सम्झौता र आर्थिक कूटनीतिक सम्बन्धको विकास गर्दै वैदेशिक लगानीको प्रवाहलाई सहज बनाउनु पर्छ।

गैरआवासीय नेपालीलाई औद्योगिक विकासमा संलग्न गराउने प्रयास गर्नुपर्छ। विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेश भित्र्याएर औद्योगिक विकास गर्ने रणनीति लिएको खण्डमा मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन सकिन्छ। औद्योगीकरणको अभियानमा दक्ष श्रम शक्तिले उत्पादन लागत कम गर्ने भएकाले आवश्यक दक्ष श्रम शक्ति राज्यले उपलब्ध गराउने भरपर्दो आधार तयार गर्नुपर्छ। वैदेशिक रोजगारमा बिदेसिएका नागरिकलाई स्वदेशमा नै आकर्षित गर्न उनीहरूका साना तथा ठुला लगानीका व्यवसायलाई राज्यले सहकार्य गरेर प्रोत्साहित गर्नुपर्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0