काठमाडौं, पुस १९ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक शनिबारदेखि दुई दिनसम्म काठमाडौंमा बस्दैछ। सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछिको यो पहिलो केन्द्रीय कमिटी बैठक हो, जहाँ पार्टीको नीति, कार्यक्रम र भावी कार्यदिशाबारे गहन छलफल हुनेछ।

लामिछाने कात्तिक २ गते पक्राउ परेयता रास्वपाले सचिवालय बैठक र केन्द्रीय कमिटीको भर्चुअल बैठक गरे पनि यो पूर्ण बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ। बैठकमा मुख्यगरी महाधिवेशनको तयारी, हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, पार्टीको कार्यदिशा निर्धारण, संगठनात्मक विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

महामन्त्री मुकुल ढकालको निलम्बनपछि उनको पुनरागमनको चर्चा चलिरहेको भए तापनि यो बैठकमा ढकालको विषयले प्रवेश पाउने सम्भावना कम छ। यद्यपि, केही नेताहरूले लामिछानेको अनुपस्थितिमा पार्टीलाई नेतृत्व दिन ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने तर्क गरिरहेका छन्। कोशी र मधेस प्रदेशका सभापतिले कार्यवाहक सभापतिलाई पत्र लेखेर ढकाललाई जिम्मेवारीमा फर्काउन माग गरे पनि सचिवालय बैठकले तय गरेको एजेन्डामा यो विषय नपरेको प्रवक्ता मनिष झाले जानकारी दिए। ढकालका अभिव्यक्तिहरूले पार्टीलाई क्षति पुर्‍याएको भन्दै धेरै नेता उनीसँग असन्तुष्ट छन्। केही नेताले भने ढकालले गल्ती स्वीकार्दै माफी मागेमा उनको पुनरागमनको सम्भावना रहेको बताएका छन्।

बैठकको मुख्य एजेन्डा वैशाख तेस्रो साता हुने महाधिवेशनको तयारी हो। हिमाली भेगबाहेक ६० जिल्लामा अधिवेशन र भेला सम्पन्न भइसकेका छन्। सभापति लामिछानेको मुद्दा अदालतमा विचाराधीन रहेकाले महाधिवेशन समयमै हुनेमा आशंका उत्पन्न भएकाले यस विषयमा पनि बैठकमा छलफल हुनेछ। कार्यवाहक सभापति डीपी अर्यालले भने तोकिएकै मितिमा महाधिवेशन हुने दाबी गरेका छन्।

मंसिर १६ गते सम्पन्न उपनिर्वाचनको समीक्षा पनि बैठकको महत्त्वपूर्ण एजेन्डा हो। ४२ स्थानमा भएको उपनिर्वाचनमा रास्वपाले २६ स्थानमा उम्मेदवारी दिएकोमा काठमाडौं–१६ मा मात्र जित हासिल गरेको थियो। अन्य स्थानमा अपेक्षाकृत परिणाम नआउनुका कारण र कीर्तिपुरमा उम्मेदवारी नदिएको विषयमा पनि समीक्षा हुनेछ। रास्वपाले देशभर संगठनात्मक संरचना विस्तार गर्ने रणनीति तय गर्नेगरी छलफल हुने नेता शिशिर खनालले जानकारी दिए।

बैठकमा पार्टीको भावी कार्यदिशा पनि निर्धारण गरिनेछ। यसअघि महोत्तरीको जलेश्वर बैठकमा प्रस्तुत प्रतिवेदन र राष्ट्रिय भेलामा पेश भएको सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा कार्यदिशा तय गरिनेछ। विधान केन्द्रीय कमिटीबाट पारित हुन बाँकी रहेकाले त्यसमाथि पनि छलफल हुनेछ।

समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। सभापति लामिछानेलाई थुनामा राखेर सरकारले प्रतिशोध साँधेको आरोप रास्वपाको छ। कार्यवाहक जिम्मेवारी पाएकाहरूलाई महाधिवेशनसम्म जिम्मेवारी दिने तयारी छ। संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदीय दलको नेता चयन गर्ने विषयमा पनि छलफल हुनेछ।

रास्वपाले पालिकादेखि वडासम्म संगठन विस्तारको योजना बनाएको छ। सरकारी कर्मचारीबाहेक अन्य क्षेत्रमा संगठन विस्तार गर्नेबारे बैठकमा छलफल हुनेछ। स्ववियु निर्वाचन नजिकिँदै गएकाले विद्यार्थी संगठनबारे पनि छलफल हुने प्रवक्ता झाले बताए। रास्वपाको विधानमा विद्यार्थी संगठनबारे स्पष्ट व्यवस्था नभएकाले यस विषयमा पनि निर्णय लिइनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0