काठमाडौं, पुस १९ गते। धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधनको क्रममा धितोपत्र बोर्ड (सेबोन) को संरचनालाई लिएर सांसदहरूबीच तीव्र लबिइङ चलेको छ। प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल भइरहेको विधेयकमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्था (आइक्यान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को प्रतिनिधित्वलाई लिएर सांसदहरू विभाजित देखिएका हुन्।
विधेयकमा स्वार्थ बाझिने सम्भावनालाई मध्यनजर गर्दै आइक्यान र महासंघको प्रतिनिधित्व हटाउने प्रस्ताव गरिएको छ। तर, विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउँदै यी दुई संस्थाको प्रतिनिधित्वलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्। केही सांसदहरूले भने यी दुई संस्थाको ठाउँमा अन्य संस्थाको प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका छन्।
महासंघ उद्योगी व्यापारीहरूको छाता संगठन हो भने आइक्यानले नेप्सेमा सूचीकृत कम्पनीहरूको लेखापरीक्षण गर्दछ। नियामक निकाय सेबोनमा यी संस्थाको प्रतिनिधित्व हुँदा स्वार्थ बाझिने सम्भावना हुन्छ। यही कारणले विधेयकमा यस्तो व्यवस्था गरिएको हो। तर, सांसदहरूले व्यापारीको ‘कोटा’ सुरक्षित राख्न लबिइङ गरिरहेका छन्।
रास्वपा, माओवादी केन्द्र, एमाले, कांग्रेस र एकीकृत समाजवादीका सांसदहरूले महासंघ र आइक्यानको प्रतिनिधित्व हुनुपर्ने भन्दै संशोधन दर्ता गराएका छन्। केही सांसदले बोर्डमा महिला प्रतिनिधित्व हुनुपर्ने माग गर्दै संशोधन दर्ता गराएका छन्। कांग्रेसका केही सांसदले उपाध्यक्ष सरकारले नियुक्त गर्नुपर्ने प्रस्ताव गरेका छन् भने महामन्त्री गगन थापा नेतृत्वको समूहले अध्यक्षदेखि सदस्यसम्मको संरचनामा परिवर्तनको प्रस्ताव गरेको छ।
चार्टर्ड एकाउन्टेण्ट्स अनलराज भट्टराईले आइक्यानको प्रतिनिधित्व नभए बोर्डमा चार्टर्ड एकाउन्टेण्ट जान नमान्ने बताएका छन्। नेपाल बार एसोसिएसनले पनि धितोपत्र बोर्डमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ। बारले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनीहरूको तर्क छ। अर्थ समितिका सभापति सन्तोष चालिसेले पनि आइक्यानलाई राखेर बारलाई भित्र्याउन सकिने बताएका छन्।
धितोपत्र बोर्डका पूर्वअध्यक्ष चिरञ्जीवी नेपाल भने आइक्यान र महासंघको प्रतिनिधित्वको विपक्षमा छन्। उनले बोर्डमा रहँदा यस्ता प्रतिनिधिहरूले व्यापारिक स्वार्थ मात्र हेर्ने गरेको अनुभव सुनाए। उनले बारको प्रतिनिधित्वको आवश्यकता पनि नरहेको बताए। नेपालले बोर्डलाई पाँच सदस्यीय मात्र बनाउनुपर्ने सुझाव दिएका छन्।


























