पोखरा, १९ पुस । गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नं २७, तालचोकमा २०औँ लेखनाथ महोत्सवको भव्य शुरुवात भएको छ। लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे। महोत्सवको सुरुआत झाँकी प्रदर्शन तथा विभिन्न जनजातिका भेषभूषामा सुसज्जित र्यालीले सांस्कृतिक माहोल सिर्जना गरेको थियो।
महोत्सवमा राष्ट्रिय कलाकारद्वारा स्टेज कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमजस्ता विविध प्रस्तुतिहरू समावेश गरिएका छन्। साथै, नवप्रतिभा खोजी, रत्यौली गीत प्रस्तुति, सुगम संगीत र लाइभ कन्सर्टजस्ता मनोरञ्जनात्मक कार्यक्रमले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवमा तीन सय ३६ वटा स्टल राखिएको जानकारी दिए। “लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने नाराका साथ आयोजित महोत्सव आउँदो माघ १ गतेसम्म चल्नेछ। महोत्सवमा करिब दुई लाख ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ।
महोत्सवबाट नौ करोड रुपैयाँको आर्थिक कारोबार हुने, करिब १० लाख रुपैयाँ बचत हुने, र यसले आर्थिक चलायमानतामा सहयोग पुर्याउने सङ्घको अपेक्षा छ। महोत्सवले स्थानीय उत्पादनहरूको बजारीकरण, कृषि सामग्रीको प्रदर्शन, र महिला उद्यमीको उत्पादनको प्रबर्द्धनमा योगदान दिने लक्ष्य लिएको छ।
मुख्यमन्त्री पाण्डेले कोभिडपछिको कमजोर अर्थतन्त्रलाई निजी क्षेत्र र सरकारको सहकार्यबाट सुधार गर्न सकिने बताए। गण्डकी प्रदेशलाई समृद्ध बनाउन नीति नियमहरूमा आवश्यक सुधार गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो। उनले पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रले सहकार्य गरेर पोखरालाई थप आकर्षक गन्तव्य बनाउन सकिने बताए।
लेखनाथ महोत्सवको सुरूवात २०५८ सालमा सुन्तला प्रदर्शनीबाट भएको थियो। २०६१ सालदेखि महोत्सवलाई वार्षिक कार्यक्रमका रूपमा आयोजना गर्दै आएको सङ्घले जनाएको छ। महोत्सवले कास्की र लेखनाथ क्षेत्रमा उत्पादित वस्तुको बजारीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
प्रचारप्रसार संयोजक जानुका पराजुलीका अनुसार महोत्सवले पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक क्षेत्रमा ठोस प्रभाव पार्नेछ। सह-संयोजक राजेन्द्र ओझाले महोत्सवलाई स्थानीयले चाडपर्वका रूपमा लिने र यो उत्पादक र उपभोक्ताबीचको सहकार्यको उत्कृष्ट माध्यम भएको बताए।

























