वीरगञ्ज – लगातार दुई दिनदेखिको हुस्सु र कुहिरोले बारा र पर्सा जिल्लाको जनजीवन प्रभावित बनाएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोले कठ्यांग्रिएका छन्। शीतलहरका कारण स्याँठ चल्दा घरबाहिर निस्कने मानिसहरूको संख्या न्यून देखिएको छ। चिसोका कारण ज्येष्ठ नागरिक र बालबालिका विशेष गरी प्रभावित भएका छन्।

मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलका अनुसार मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा र पर्सा दुवै जिल्लाको तापक्रम घट्दो क्रममा छ। कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस मापन गरिएको थियो भने आइतबार बिहान न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको थियो। बारामा आइतबार बिहान ८:५६ बजे तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो।

वीरगञ्ज महानगरपालिकाले जाडो बढेसँगै नारायणी अस्पताल, नयाँ बसपार्क चोक, घण्टाघर चोक, माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण भइरहेको जानकारी दिए। साथै, आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो कपडा वितरण भइरहेको उनले बताए।

शीतलहरले जनजीवन प्रभावित पारेपछि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरोका कारण चिसो अझै बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0