पोखरा, पुस २२। पुस २५ देखि माघ ७ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने १३ औं पोखरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। युनाइटेड क्लब पोखराले आयोजना गर्ने महोत्सव यस वर्ष छात्रावास निर्माणलाई प्राथमिकतामा राख्दै आयोजित गरिएको छ। क्लबका महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश सुनारका अनुसार, महोत्सवको आम्दानीबाट पोखरा–२७ अर्चलेमा छात्रावास निर्माण थालिनेछ।
युनाइटेड क्लबले यसअघि पोखरा र आसपासका १९ सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको र स्वास्थ्य शिविरमार्फत ग्रामीण क्षेत्रलाई सहयोग गर्दै आएको जानकारी गराएको छ। क्लबले सेती नदी संरक्षणका लागि प्रत्येक टिकटबाट एक रुपैयाँ छुट्याउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको छ।
१२ दिनसम्म चल्ने महोत्सवमा २५८ स्टल रहने छन्। महोत्सव आयोजकले २ देखि साढे २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरेको छ। महोत्सवमा औद्योगिक उत्पादन, हस्तकलाका सामान, सूचना प्रविधि, कला, संस्कृति, र भेषभूषाको प्रदर्शनी गरिनेछ। साथै, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, टिकटक प्रतियोगिता, र सांस्कृतिक प्रस्तुतीले महोत्सवलाई आकर्षक बनाउने आयोजकको योजना छ।
महोत्सवमा राजु परियार, बद्री पंगेनी, ज्योति मगरजस्ता कलाकारको लोकदोहोरी प्रस्तुतीसँगै भिटेन, सुगम पोखरेल, जेम्सी, र अन्य ब्याण्डहरूको कन्सर्ट रहनेछ। बाल उद्यान, सामुहिक लोकनृत्य प्रतियोगिता, र झाँकी प्रदर्शनीजस्ता गतिविधिहरूले पनि दर्शकलाई आकर्षित गर्नेछन्।
महोत्सवका प्रमुख प्रायोजक बेटर होम एप्लायन्सका सामान खरिद गर्ने भाग्यशाली ग्राहकलाई पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, बन्दीपुर केबलकारले टिकटधारीलाई विभिन्न सेवामा छुट दिनेछ। नेपाल टेलिकमले नागरिकता र फोटो ल्याउनेलाई निशुल्क सिम उपलब्ध गराउनेछ।
महोत्सवले शिक्षा, स्वास्थ्य, खेलकुद, र पर्यटन प्रवर्द्धन गर्दै आर्थिक चलायमानतासहित क्षेत्रीय विकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ।





























