पोखरा, २५ पुस – लस एन्जलसका विभिन्न क्षेत्रमा डढेलोले भयावह स्थिति सिर्जना गरेको छ। उच्च वेगको हावा र सुख्खा मौसमका कारण तीव्र गतिमा फैलिएको आगलागी नियन्त्रणमा ल्याउन दमकलकर्मीहरूलाई हम्मेहम्मे परेको छ। बिबिसीका अनुसार यो आगलागी लस एन्जलसको इतिहासमै सबैभन्दा विनाशकारी मानिएको छ।

सबैभन्दा ठूलो “पलिसेड्स डढेलो” सान्ता मोनिका र मालिबुका बीचमा फैलिएको छ। १७,००० भन्दा बढी एकड जमिन जलेर नष्ट हुँदा ३०,००० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानतर्फ सारिएको छ। यस क्षेत्रमा १,००० भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

प्याशाडेना क्षेत्रको “ईटन डढेलो” दोस्रो ठूलो मानिएको छ, जसले १०,००० एकड भन्दा बढी क्षेत्रफल जलेको छ। यस आगलागीमा पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको छ। “हर्स्ट डढेलो” उत्तरपूर्वमा फैलिएको छ भने “लिडिया डढेलो” उत्तरको पहाडी क्षेत्रमा देखिएको छ। “संसट डढेलो” ऐतिहासिक हलिउड हिल्समा सुरु भएको छ, जहाँ हलिउड साइन्सहित धेरै पर्यटकीय स्थल छन्।

बिबिसीका अनुसार पलिसेड्स डढेलोले एकै दिनमा तीन गुणाले फैलिने तीव्रता देखायो। मङ्गलबार दिउँसो २ बजे ७७२ एकडमा फैलिएको आगो चार घण्टाभित्र लगभग २,००० एकडमा फैलिएको थियो।

ईटन डढेलोले प्याशाडेना र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बिबिसीले प्रस्तुत गरेका तस्बिरहरूले त्यहाँका घरहरू, व्यापारिक संरचनाहरू र ऐतिहासिक स्थलहरूको नाश देखाएका छन्। प्याशाडेनाको यहूदी मन्दिर, जुन १९४१ देखि सञ्चालनमा थियो, आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको छ।

हलिउड क्षेत्रबाट धुँवा र आगलागीका दृश्यहरूले बाटोहरू बन्द भएका र मानिसहरू जाममा फसेको अवस्था देखाइएको छ। दमकलकर्मीहरू पाँच ठूला डढेलोसँग लडिरहेका छन् भने दुई साना डढेलोहरू नियन्त्रणमा आएको जनाइएको छ।

लस एन्जलसका यी डढेलोले केवल स्थानीय क्षेत्रहरूलाई मात्र होइन, विश्वव्यापी चासोसमेत सिर्जना गरेको छ। जलवायु परिवर्तनका प्रभाव र मानव बसोबासका क्षेत्रमा आगलागीको जोखिमप्रति सचेत हुनुपर्ने आवश्यकता झल्किएको छ।

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0