पोखरा, २८ पुस। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र महाधिवेशन आउन एक वर्ष बाँकी छँदै नेतृत्वको होडबाजी सुरु भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। दाङमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन संगठन सुदृढ गर्ने समय आएको बताउँदै नेतृत्वको विषयमा अहिले बहस गर्नु अनुपयुक्त रहेको धारणा राखे।
उनले पार्टीको बलियो संगठन निर्माण बिना नेतृत्वको दौडले कांग्रेसलाई फाइदा नपुर्याउने बताएका छन्। “अहिले महाधिवेशनको होडबाजीभन्दा पनि पार्टीलाई सुदृढ कसरी बनाउने भन्ने कुरा महत्त्वपूर्ण हो। नेतृत्वको चर्चा महाधिवेशनको समयमा गरौं,” उनले भने।
कोइरालाले सभापतिमा आफ्नो स्वाभाविक दाबेदारी रहे पनि देशभरका पार्टी साथीहरूसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताए। उनले कांग्रेसलाई वीपी कोइरालाको सिद्धान्तअनुसार अघि बढाउनुपर्नेमा जोड दिँदै वीपी कोइरालाले समावेशी सोचका साथ सबै वर्ग, जाति र समुदायलाई समेटेको स्मरण गरे।
कार्यक्रममा कोइरालाले मिसन ०८४ नभई कांग्रेसको रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले ०१५ सालमा एसियामै पहिलो महिला मन्त्री बनाउन सफल वीपीको नेतृत्वको प्रशंसा गर्दै कांग्रेसको इतिहासले देशलाई सही दिशा दिन सक्ने बताए।





























