काठमाडौं, ३ माघ। वैज्ञानिक अध्ययन र तथ्याङ्कले पश्चिम नेपाल महाभूकम्पको उच्च जोखिममा रहेको पुष्टि गरेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भूगर्भीय शक्ति सञ्चय भइरहेकाले ८ म्याग्निच्यूडभन्दा बढीको भूकम्प जान सक्ने खतरा रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पविद्हरूका अनुसार पश्चिम नेपालको भूगर्भमा पाँच सय २० वर्षदेखि भूकम्पीय शक्ति सञ्चित छ। सन् १५०५ पछि पश्चिममा ठूलो भूकम्प नगएको कारण भूगर्भमा ऊर्जा झन् बढ्दै गएको छ। भूकम्प मापन केन्द्रका चिन्तन तिमिल्सिनाले साना र मझौला भूकम्पले जोखिम टार्न नसक्ने भन्दै यो क्षेत्र महाभूकम्पको पूर्वसूचक घण्टी बजिरहेको क्षेत्र रहेको बताए।
पछिल्लो दुई वर्षमा मात्र पश्चिम नेपालमा ४ म्याग्निच्यूडभन्दा माथिका ७७ भूकम्प गइसकेका छन्। यस्तै, २०३७ सालमा बझाङ केन्द्रबिन्दु भएर गएको ६.५ म्याग्निच्यूडको भूकम्पले १२५ जनाको ज्यान लिएको थियो। २०८० कात्तिकमा जाजरकोटमा गएको ६.४ म्याग्निच्यूडको भूकम्पले १५४ जनाको मृत्यु गराउनुका साथै ठूलो भौतिक क्षति पुर्याएको थियो।
भूकम्पविद् तिमिल्सिनाले पश्चिम नेपालमा महाभूकम्पको खतरा रहेको बताए। नेपाल दुई भौगर्भिक प्लेटको सिमानामा पर्ने भएकाले यहाँ भूकम्पीय गतिविधि सधैं सक्रिय छ। उनले भने, “भूगर्भमा लामो समयसम्म ऊर्जा सञ्चित हुँदा महाभूकम्प शक्तिशाली हुने सम्भावना धेरै छ। पश्चिम भारतदेखि नेपालको चुरे क्षेत्रसम्म जोखिम झनै बढेको छ।”
चुरे पहाड, जहाँ ३७ जिल्लासम्म फैलिएको छ, भूकम्पीय हिसाबले कमजोर मानिन्छ। यस क्षेत्रमा संरचनागत कमजोरी हुँदा भूकम्पबाट बढी क्षति हुने सम्भावना छ।
विगतमा पूर्व नेपालमा गएका महाभूकम्पले पश्चिमभन्दा कम ऊर्जा सञ्चय गराएको तथ्याङ्कले देखाएको छ। तर, वैज्ञानिकहरूका अनुसार ठूलो भूकम्प पश्चिममा केन्द्रित भए, पूर्वी नेपालमा समेत लाखौं मानिस प्रभावित हुने सम्भावना छ।
तर, जोखिमप्रति सरकारको चासो न्यून छ। भूकम्पीय चेतावनी प्रणालीको विकास सम्भव हुँदाहुँदै पनि नेपालमा यो प्रविधि लागू गरिएको छैन। तिमिल्सिनाका अनुसार संरचनागत बलियोपनमा ध्यान दिनु नै भूकम्पबाट बच्ने मुख्य उपाय हो।
सरकार र नागरिक दुवैले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान नदिए ठूलो भूकम्प आउँदा ठूलो क्षति व्यहोर्नुपर्ने स्थिति रहेको विज्ञहरूको चेतावनी छ।




























