पोखरा, ५ माघ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्। मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा आयोजित धन्यवाद ज्ञापन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले कम्तिमा २५० पालिका जितेर माओवादीलाई देशकै अग्रणी पार्टीको स्थानमा पुर्याउने उद्घोष गरेका हुन्।
गत स्थानीय तहको उपनिर्वाचनबाट माओवादी केन्द्रलाई नयाँ उचाइमा पु¥याउने सन्देश प्राप्त भएको बताउँदै प्रचण्डले ग्रामथान गाउँपालिका र उदयपुरका दुई वडा जित्नुका साथै अन्य वडामा मत बढ्नु माओवादीको लोकप्रियता पुनः स्थापित भएको प्रमाण भएको जनाए। ‘पूर्वले माओवादीलाई नयाँ उचाइमा पुर्याएको छ। यो विजय केवल पालिकाको मात्र होइन, देशव्यापी सन्देश हो,’ उनले भने।
प्रचण्डले माओवादीलाई कमजोर देखाउने प्रयास भइरहेका बेला उपनिर्वाचनले पार्टीको सशक्त उपस्थिति पुष्टि गरेको बताए। उनले ग्रामथानको विजयलाई पार्टीको भविष्यको रणनीतिक उपलब्धि भन्दै यस क्षेत्रका जनताको समस्यामा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।
ग्रामथानको विजयलाई केन्द्रीय समिति बैठकमा दस्तावेजमार्फत विशेष सन्देशको रूपमा प्रस्तुत गरिएको जानकारी दिँदै उनले आगामी निर्वाचनमा माओवादीले एक्लै लड्ने योजना रहेको र अब बलियो आधार तयार भएको उल्लेख गरे।
प्रचण्डले विगतमा कांग्रेस र एमालेसँग सहकार्य गर्दा भएका कमजोरी स्वीकार्दै, पार्टीलाई आफ्नो सामर्थ्यमा भर गर्दै अघि बढाउने स्पष्ट पारे।




























