पोखरा, ५ माघ। सन् २०२४ विश्वभर चुनावी वर्षका रूपमा चित्रित थियो। यो वर्ष बितेर सन् २०२५ को प्रारम्भसम्म आइपुग्दा विश्व राजनीतिमा ठूला उथलपुथलहरू देखा परेका छन्। क्यानाडादेखि एसियासम्म, स्थापित राजनीतिक संरचनाहरूमाथि प्रश्न उठेका छन् र जन असन्तुष्टि चुलिएको छ। उदार लोकतन्त्र भनिने देशहरूमा दक्षिणपन्थी शक्तिको प्रभाव बढ्दो छ भने एसियाली मुलुकहरूमा राजनीतिक अस्थिरताले जरो गाडेको छ।
क्यानाडामा लोकप्रिय प्रधानमन्त्री जस्टिन ट्रुडो गिर्दो लोकप्रियताका कारण राजीनामा दिन बाध्य भए। उनको लिबरल पार्टीको लोकप्रियता पहिलो पटक निर्वाचित हुँदाको ६३ प्रतिशतबाट घटेर २८ प्रतिशतमा झरेको थियो। महँगी, आप्रवासन नीतिप्रतिको असन्तुष्टि र एकलकाँटे शासन शैलीका कारण उनले आफ्नै पार्टीभित्रको समर्थन पनि गुमाएका थिए। अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरोदयले लोकतान्त्रिक संस्थापनलाई ठूलो धक्का दिएको छ। पुँजी बजारमा सुधार देखिए पनि आम अमेरिकीको जीवनस्तर खस्कँदो छ। घरबारविहीनको संख्यामा वृद्धि हुनुले यो तथ्यलाई पुष्टि गर्दछ। डेमोक्र्याटिक पार्टीले जनमुखी नारा दिन नसक्दा ट्रम्पको जित सहज भएको विश्लेषण गरिएको छ।
युरोपका शक्तिशाली देशहरू फ्रान्स र जर्मनी पनि राजनीतिक अस्थिरताको भूमरीमा फसेका छन्। जर्मनीमा गठबन्धन सरकारको प्रयोग नौलो होइन, तर हालैको गठबन्धन विभिन्न नीतिगत मतभेदका कारण ढल्यो। आप्रवासन, महँगी र युक्रेन युद्धका कारण दक्षिणपन्थी पार्टीको जनमत बढ्दो छ। फ्रान्समा राष्ट्रपति इम्मानुएल म्याक्रोँको पार्टीले युरोपेली संसदको चुनावमा हार बेहोरेपछि मध्यावधि चुनावको घोषणा गरे। यद्यपि दक्षिणपन्थीले बहुमत ल्याउन सकेनन्, तर फ्रान्सेली संसद तीन खेमामा विभाजित हुँदा राजनीतिक अस्थिरता थप बढेको छ। प्रधानमन्त्रीले संसदमा मतदान नगरी अलोकप्रिय बजेट ल्याउन खोज्दा सरकार ढल्यो र फ्रान्समा राजनीतिक संकट गहिरिएको छ।
एसियाली लोकतन्त्रमा पनि उदेकलाग्दा घटनाहरू घटेका छन्। दक्षिण कोरियामा राष्ट्रपति युन सुक योल भ्रष्टाचारको आरोप र संसदीय निर्वाचनमा विपक्षीको बहुमतका कारण शक्तिहीन बने। उनले मध्यरातमा सैनिक कानुनको घोषणा गरेपछि स्थिति थप जटिल बन्यो र अन्ततः महाअभियोगमार्फत उनको पद खोसियो। जापानमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को ७० वर्ष लामो दबदबा कमजोर भएको छ। कल्टहरूको प्रभाव, भ्रष्टाचारका मुद्दा र आर्थिक सुस्तीका कारण एलडीपीले बहुमत गुमाएको छ। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले पनि बहुमत गुमाएको छ। उत्तर प्रदेश र महाराष्ट्रमा अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा भाजपाले गठबन्धन सरकार चलाउनुपर्ने अवस्था आएको छ। अडानी समूहसँगको सम्बन्ध र कर नीतिका कारण मोदीको लोकप्रियतामा पनि कमी आएको छ।
बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई आन्दोलनको आँधीले सत्ताच्यूत गर्यो। आरक्षण नीतिको विरोधमा सुरु भएको आन्दोलनले हसिनालाई देश छोड्न बाध्य पार्यो। नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन्। हसिनाको पतनसँगै बंगलादेश र भारतबीचको सम्बन्धमा पनि चिसोपन आएको छ।
विश्वभरका केन्द्रीय बैंकको प्रतिवेदन हेर्दा अर्थव्यवस्थामा सुधार देखिए पनि आम मानिसको जीवनस्तरमा सुधार आउन सकेको छैन। धनी झन् धनी र गरिब झन् गरिब हुँदै गइरहेका छन्। जलवायु परिवर्तनका कारण विश्वले ठूला विनाशहरू खेपिरहेको छ। यस्तो अवस्थामा राजनीतिक नेतृत्वले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ। विश्व राजनीतिमा देखिएको यो उथलपुथल त्यसकै संकेत हो।




























