पोखरा, ६ माघ। नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ। ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि भीषण विस्फोट भएको थियो। नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीका अनुसार ट्याङ्कर विस्फोटमा ज्यान गुमाउनेको संख्या ८६ पुगेको हो।

हुसेनीले दिएको जानकारी अनुसार आइतबार दिउँसो १२ बजेदेखि सोमबार दिउँसो २ बजेसम्म ८६ जनाको जलेको शव सामूहिक चिहानमा गाडिएको थियो। शव गाड्न १४ घण्टाभन्दा बढी समय लागेको थियो किनकि शव गाड्ने मानिस नपाएपछि स्थानीयलाई बोलाएर सामूहिक चिहान खन्नुपरेको थियो। विस्फोटमा परी गम्भीर घाइते भएका ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यो विस्फोट सङ्घीय राजधानी कादुनासँग जोड्ने सडकको डिक्को जंक्शनमा भएको थियो।

सन् २०२३ मा राष्ट्रपति बोला टिनुबुले इन्धनमा दिइँदै आएको अनुदान समाप्त गरेपछि खाना र यातायातको लागत बढेको छ। राष्ट्रपतिले इन्धन ट्याङ्कर विस्फोटमा गहिरो दुःख व्यक्त गरेका छन्। उनले इन्धनको गम्भीर जोखिम र वातावरणीय खतराका बारेमा जनचेतना जगाउन राष्ट्रिय अभियान चलाउन आदेश दिएका छन्। यसअघि अक्टोबरमा उत्तरी नाइजेरियाको जिगावा राज्यमा यस्तै दुर्घटना हुँदा १७० भन्दा बढीको ज्यान गएको थियो। सन् २०२० मा फेडरल रोड सेफ्टी कोप्र्सले १ हजार ५३१ इन्धन ट्याङ्कर दुर्घटना भएको र ती दुर्घटनामा ५३५ भन्दा बढीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0