पोखरा, ७ माघ। गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सबाट धोका पाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेको केही समयमै अर्की गायिका ज्योति मगरले तीव्र प्रतिक्रिया दिएकी छन्। समीक्षाले श्री एयरलाइन्सले समयमा उडान नगर्दा आफ्नो कार्यक्रम छुटेको गुनासो गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन्।
ज्योतिले समीक्षालाई लक्षित गर्दै एयरलाइन्सलाई दोष दिएर आफूलाई ठूलो स्टार ठान्ने प्रवृत्ति हास्यास्पद भएको टिप्पणी गरिन्। फेसबुकमार्फत उनले एयरलाइन्सहरूले जानीजानी यात्रुलाई दुःख नदिने भन्दै समीक्षा अधिकारीको आरोपलाई मनगढन्ते भनेकी छन्।
‘एयरपोर्ट सानो छ। अन्तर्राष्ट्रिय र घरेलु उडान एउटै रनवेमा सञ्चालन हुन्छ। टेक्निकल समस्याहरू र निश्चित निकायहरूको अनुमति आवश्यक पर्छ,’ ज्योतिले स्पष्ट पार्दै लेखेकी छन्। उनका अनुसार कलाकारहरूले यथार्थ बुझेर प्रतिक्रिया दिनुपर्ने र व्यावसायिकतामा ध्यान दिनुपर्ने हुन्छ।
समीक्षा र ज्योतिबीचको यो वाकयुद्धले सामाजिक सञ्जालमा चासो र बहसको विषय बनेको छ। दुई लोकप्रिय गायिकाबीच देखिएको यो विवादले एयरलाइन्सको सेवा र व्यवस्थापनसम्बन्धी सार्वजनिक चासोलाई पुनः सतहमा ल्याएको छ।

































